झापा-झापा क्षेत्र-२ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाउनु भएको छ। प्रतिनिधिसभाका निवर्तमान सभामुखसमेत रहनुभएका घिमिरेले परम्परागत घरदैलो कार्यक्रमसँगै डिजिटल माध्यमलाई सशक्त रूपमा प्रयोग गरिरहनु भएको छ।
उहाँले आगामी कार्यकाल (२०८२–८७) का लागि तयार पारिने चुनावी प्रतिबद्धता पत्रमा मतदाताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्नुभएको छ। सो माध्यममार्फत झापा–२ का मतदातासँग सुझाव आह्वान गरिएको उहाँको सचिवालयले जनाएको छ।
घिमिरेका अनुसार घोषणापत्रलाई जनतामैत्री र यथार्थपरक बनाउन स्थानीय बासिन्दाको सुझाव संकलन गर्ने उद्देश्यले प्रविधिको प्रयोग गरिएको हो। ‘झापा क्षेत्र-२ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सुझावलाई नै हाम्रो मार्गचित्र बनाउनेछौँ,’ उहाँको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई सभामुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएका घिमिरेलाई यस पटक एमालेले ‘अनुभवी’ र ‘प्रविधिमैत्री’ उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ।
मतदाता भेटघाटका क्रममा उहाँले स्थानीय विकास, पूर्वाधार विस्तार तथा शिक्षाजस्ता विषयमा छलफल गरिरहनु भएको छ। साथै डिजिटल माध्यमबाट प्राप्त हुने रचनात्मक सुझावलाई घोषणापत्रमा समेट्ने प्रतिबद्धता पनि जनाउनु भएको छ।






प्रतिक्रिया