अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भुइँतह र उत्पादनसँगको सम्बन्ध, राजनीतिक, सामाजिक रूपमा अग्लो कद

भुइँतह र उत्पादनसँगको सम्बन्ध, राजनीतिक, सामाजिक रूपमा अग्लो कद

खोटाङमा देव विक्रम राईले जित्ने आधारहरू


बुइपा (खोटाङ)। खोटाङकै पहिलो माध्यमिक विद्यालय चम्पावती बुइपा। कुनै दिन बुइपामा अध्ययन गरेका विद्यार्थीहरुले निजामति सेवा, राजनीतिक यात्राका नामै राखेका थिए। २०१३ भदौ १ गतेदेखि सुरु भएको थियो। खार्पा, नुनथला, अर्खौले, दिक्तेल, रुपाकोट, मझुवागढी सबै वरपरका विद्यार्थी बुइपामा पढ्न आउँथे। त्यही विद्यालयमा लामो समय अध्यापन गराउनुभयो शुभ शेर राईले।

समाजमा स्थापित शुभ शेर सरको तल बेंसीटोलमा अहिले पनि देखिने गरी तीन तले घर छ। वामपन्थी विचार, साहित्यमा झुकाव राख्नुहुने शुभ शेर यति स्थापित शिक्षक र संगठक हुनुहुन्थ्यो कि ! खोटाङ जस्तो वामपन्थी जनमत पकड भएको जिल्लामा ४ कार्यकाल नेपाल शिक्षक संगठनको अध्यक्ष बन्नुभयो। उनै चर्चित शिक्षक शुभ शेरका २ छोरा, २ छोरीमध्ये जेठो छोरो हुनुहुन्छ- देव विक्रम राई।

२०२६ सालमा बुइपामै जन्मिनु भएका देव विक्रम आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)को तर्फबाट खोटाङ जिल्लाको उम्मेदवार हुनुहुन्छ। एमाले खोटाङ जिल्लाका अध्यक्षको जिम्मेवारी पनि देव विक्रमले नै निभाउनु भएको छ। बुवाकै आनिबानीसँग मिल्दो देव विक्रमले माक्र्सवादी, प्रगतिशिल साहित्यप्रति गहिरो रुची राख्नुहुन्छ।
‘माक्र्सवादी अध्ययन र साहित्यप्रति बुवाको गहिरो रुची थियो। किताबहरु घरमा प्रशस्तै हुन्थे। त्यहीबाट मेरो अध्ययनसँगै साहित्यप्रति पनि रुची बढेको हो’, अघिल्लो साता सदरमुकाम दिक्तेलममा चुनावी चटारोसँगै भेटिनु भएका देव विक्रमले भन्नुभयो– ‘म भिष्म धिमाल, दलाल नं. १, युद्ध संग्राहलयको हाकिम’ लगायत कविताहरु प्रकाशित छन्।’

उत्पादन र देव विक्रम
अलिक पुरानै इतिहासतिर हेर्दै जाने हो भने बुइपा माझ किरातको मुकाम नै थियो। अहिले कोशी प्रदेशको शानका रुपमा बुइपा पञ्चरदोबाटो मै स्थापना गरिएको छ यलम्बरको विशाल मूर्ति। जसले पर्यटन लोभ्याउँदै छ। उदयपुरकाे घाईघाट, पञ्चरदोबाटो हुँदै माहुरे मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जोड्ने बाटो कालोपत्रे हुने क्रम जारी छ। जसले हलेसीको त्रिधार्मिकस्थल दर्शनार्थीका लागि दक्षिण छिमेकी भारत, मधेस प्रदेशबाट आउने भक्तजनहरुका लागि सहज हुँदै छ।

पञ्चरदोबाटोको विशाल यलम्बर बाटिका, बाटो कालोपत्रे हुँदासाथ साढे ३ घन्टामा गाईघाटबाट हलेसीधाम सहजै पुगिन्छ। त्यससँगै साबिक बुइपा गाविस-१ बेसीटोलमा देव विक्रमले ५ सय बढि अलैँचीको फार्म सुरु गर्नुभएको छ। त्यससँगै डेढ सय हाराहारीमा एभोकाडोको विरुवा हुर्काइरहनु भएको छ। नेपाली विषयमा स्नातकोत्तर देव विक्रमले बुइपामा अलैंचीको बोट लगाउन सबैलाई प्रेरित गर्नुभएको छ। केही वर्षभित्र बुइपा अलैंची उत्पादनको हब बन्ने अहिलेको लगानीले देखिन्छ। ‘२०३९ सालदेखि विद्यालयमा अखिलमा झुकाव राखेँ। दुई वर्ष शिक्षण पेशामा आबद्ध भएँ। त्यसपछि निरन्तर पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै अहिले पार्टी जिल्ला अध्यक्षको जिम्मेवारीसँगै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी बनेको छु’, उहाँले भन्नुभयो– ‘गाउँमै बसेर उत्पादनसँग नजोडिएसम्म जिल्लावासीको मुहारमा खुसी लिन सकिन्न भन्ने मलाई चेत भएकाले उत्पादनमा बढि जोड् दिएको छु।’

बुवासँगै चम्पावती माविमा २०५०-५२ दुई वर्ष अध्यापन गराउनु भयो देव विक्रमले। त्यसपछि निरन्तर राजनीति, संगठन, समाजसेवा र कृषि उत्पादनमा देव विक्रम राई जोडिनु भएको छ।

उत्पादनसँग जोडिने प्रेरणा
अन्य जिल्लामा चुनावी रनौक, उम्मेदवारहरुको घरदैलोका तस्वीरहरु सामाजिक सञ्जालमा आइरहेका थिए। तर देव विक्रमको चुनावी प्रचार अलिक भिन्न परिस्थिति थियो। उहाँले ५ दिन जति काठमाडौं बसोबास गर्ने खोटाङवासीसँग मत माग्नु भयो। त्यसपछि इटहरी, धरान र गाईघाटमा। यसो हुनुको तथ्यमा उहाँले भन्नुभयो– ‘बसाइ–सराइ गर्ने जिल्लामा मुलुकको दोस्रो जिल्लामा पर्छ खोटाङ। त्यही भएर मतदातासँग काठमाडौं, इटहरी, धरान, गाईघाटमा भेटघाट गरेर दिक्तेल आइपुगेको छु।’
बाँदर लगायत बन्यजन्तको बालीनाली सखापा पारिदिने, बाटो, बिजुली, खानेपानी, स्वास्थ्य शिक्षाको सहजता नहुने, कृषिमा उत्पादन नहुँदा बसाइ–सराइको समस्या भोगिरहेका खोटावासीसँग देव विक्रमको राम्रो घुलमिल छ। त्यसैले बसाइ–सराइ रोक्नका लागि मुख्य रुपमा उत्पादनमा जोड् हुनुपर्ने आफूलाई प्रेरणा मिलेको उहाँले बताउनुभयो।

देव विक्रमको एजेन्डा र प्रतिबबद्धता
बाटो नपुगेको वडा कुनै छैन, तर सहज छैन । खोटाङमा अहिले सबै भन्दा बढि बाँदर लगायत जङ्गली जनवारबाट बालिनाली सखाप पारिदिने समस्या रहेको उहाँले बताउनुभयो । ‘खोटाङको मुख्य समस्या भनेको बाँदर लगायत बन्यजन्तुले किसानको उत्पादन सखाप पार्नु हो’, उहाँले भन्नुभयो– ‘खेती लगायो बाँदरले खाइदिन्छ, शिक्षा सहज छैन, खानेपानी छैन, स्वास्थ्यको राम्रो सुविधा छैन । त्यही भएर खोटाङको बसाइ–सराइ उच्च रुपमा बढेको हो ।’

त्यससँगै विद्युत सहजताका लागि दुधकोशी जलशाययुक्त ६ सय ७० मेघावाटको विजुली उत्पादनको पहल, मध्यपहाडी लोकमार्ग उत्तर–दक्षिणको सडक विस्तारसँगै स्तरउन्नति, रावा, सावा खोलाको कोरिडोर, कम्तिमा ५० शैय्याको अस्पताल बनाउनेप्रति आफू प्रतिबद्ध रहेको देव विक्रमले बताउनु भयो । त्रिधार्मिक स्थल हलेसी बहुधार्मिक तीर्थस्थल मार्गका सहज पहूँचमा आफ्नो पहल रहने उहाँले बताउनु भयो ।

निर्वाचित भएपछि विधायकीको भूमिका निर्वाह समेत पुरा गर्नुपर्ने भएकाले वास्तविक राज्य पुनर्संरचनाका लागि नीति निर्माणमा लाग्ने उहाँले बताउनुभयो । ‘राज्य पुनर्संरचना भनिभएको छ। व्यवहारमा छैन । त्यसका लागि बसाइ–सराइ रोक्न, भूमि, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतमा आमूल परिवर्तनको नीति निर्माण गर्नका लागि भूमिका निर्वाह गर्ने छु’, उहाँले भन्नुभयो।

जितको आधार
बौद्धिक, सालिन, भद्र स्वभावका देव विक्रम खोटाङवासीका भुइँमान्छेसँग सम्बन्ध भएको व्यक्ति हुनुुहुन्छ। पारिवारिक रुपमा हेर्दा बुवाको यलम्बरको मुर्ति भन्दा अग्लो सामाजिक छबि, राजनीतिक परिपक्वता र लामो इतिहास बौद्धिक व्यक्तित्व, बाक्लो समुदायगतको मत, पार्टीको बलियो जनआधार, उत्पादनसँग जोडिनु देव विक्रमले जित्न सक्ने आधारहरू हुन् ।

‘मैले नै यहाँ राजनीति गरेको २६÷२७ वर्ष भयो । खोटाङ नजित्ने भन्ने कुरा हुन्न । भुइँ तहका आधारभूत जनतामा अत्यन्तै लोकप्रिय राजनीतिक इतिहास बोकेका पाका मान्छे देव विक्रम राईलाई उठाएका छौं । बिगतको मत, पार्टीको बलियो जनआधार, पार्टी एकढिक्का भएर चुनावी अभियानमा जुटेका छौं । चुनाव जित्छौं’, चुनावी कमाण्डर पूर्वप्रतिनिधि सभा तथा एमाले केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले भन्नुभयो ।

‘जनतासँग म राम्ररी घुलमिल छु । पार्टीको एजेन्डा प्रष्ट छ । खोटाङबासीलाई फेरि जिल्लामा फर्कौं–फर्कौं बनाउने मेरो सपना छ। जसलाई पुरा गर्न यसपटक मलाई जिल्लावासीले मत दिएर जिम्मेवारी सुम्पिने छन् । हामी जित्ने मात्रै भनेका छैनौं, जितेर खोटाङवासीको मुहारमा खुसीयाली लिनेछौं भन्नेप्रति पूर्णप्रतिबद्धताका साथ चुनावी अभियानमा होमिएका छौं’, देव विक्रमले भन्नुभयो ।

देव विक्रम राईको प्रतिबद्धताः
– बाँदर लगायत बन्यजन्तु रोकथाम
– जिल्लाबाट बसाई–सराई रोक्ने योजना
– दुधकोशी जलशाययुक्त ६ सय ७० मेघावाटको बिजुली उत्पादनको पहल
– मध्यपहाडी लोकमार्ग उत्तर–दक्षिण जिल्ला सडक जोड्ने र स्तरउन्नति
– रावा, सावा खोलाको करिडोर
– कम्तिमा ५० शैय्याको अस्पताल निर्माण
– त्रिधार्मिक स्थल हलेसी बहुधार्मिक तीर्थस्थल मार्गका सहज पहूँचको पहल