दमक-पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार झापाको दमकस्थित आम्दा अस्पतालको अवलोकन गर्नुभएको छ। त्यसक्रममा अध्यक्ष ओलीले अस्पतालले प्रदान गरिरहेको सेवा, भोग्नु परेको समस्या र समाधानका विकल्पहरु बारे छलफल समेत गर्नुभयो।
अस्पतालको अवलोकनका लागि पुग्नुभएका पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डा. शिखर कट्टेलले त्यहाँ भइरहेको पूर्वाधार विकास तथा सेवा प्रवाहका बारेमा जानकारी दिनुभएको थियो। उहाँका अनुसार हाल अस्पताल परिसरमा ३ करोड रुपैयाँको लागतमा आईसीयु तथा प्रयोगशाला भवन निर्माणको क्रममा रहेको छ। आम्दा नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न तथा सेवा एवम् पूर्वाधार विकासमा ओलीको महत्वपूर्ण योगदान रहेको कट्टेलले बताउनुभयो।

सामुदायीक अस्पतालको रुपमा सेवा प्रवाह गरि रहेको आम्दा अस्पताल दमकले पूर्वी नेपालका विभिन्न जिल्लाका बासिन्दाहरुलाई सेवा प्रवाह गर्दै आएको अस्पतालका पूर्व मेसु डा. नविन ढकालले बताउनुभयो। अवलोकनका क्रममा ओलीले नागरिकलाई सरल र सहज ढंगबाट स्वास्थ्य सेवा उपलव्ध गराउन आम्दाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।
अस्पतालको अवलोकन पश्चात ओली झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतको गौरादह नगरपालिकाका विभिन्न वडामा हुने भेटकाट कार्यक्रमका लागि प्रस्थान गर्नुभयो। अध्यक्ष ओली केहि दिन देखि आफु उम्मेद्वार रहेको क्षेत्रका ग्रामिण भेगका मदाताहरुसँगको भेटमा व्यस्त रहनु भएको छ ।






प्रतिक्रिया