काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभालाई स्वच्छ छविका जनप्रतिनिधिको थलो बनाउन आग्रह गर्नुभएकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै भएको बताउनुभएको हो। कुनै पनि कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुखलाई नै जिम्मेवार बनाइनुपर्ने उहाँको भनाइ थियो।
‘भ्रष्टाचार नियन्त्रणका लागि हामी कहाँ पर्याप्त संरचना छन्, पर्याप्त कानूनी र नीतिगत व्यवस्था पनि छन्। तर पनि किन हामी कहाँ भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकेको छैन,’प्रधानमन्त्री कार्की भन्नुभयाे, ‘भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो। त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुख नै आफ्नो संस्था र संस्था भित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्दछ।’
आगामी फागुन २१ गते हुने निर्वाचनमा स्वच्छ छवि भएका प्रतिनिधिहरू छनोट गरी सदाचारको महाअभियान सफल पार्न प्रधानमन्त्री कार्कीले सबैमा आग्रह गर्नुभयाे। निर्वाचनलाई मुलुकमा सदाचार र सुशासन स्थापनाको ऐतिहासिक महाअभियानका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।
निर्वाचनले मुलुकको राजनीतिक दिशा र भविष्यलाई नयाँ मोड दिने अपेक्षा प्रधानमन्त्री कार्कीले गर्नुभयाे।






प्रतिक्रिया