विराटनगर- नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं. ४ का उम्मेदवार जीवन घिमिरेले मतदाताका सुझावहरुलाई समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी गर्नुभएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचन अन्तर्गत पहिलो चरणको घरदैलो कार्यक्रमसँगै मतदाताका सुझावहरु पनि संकलन गरिएको उहाँले बताउनुभयो। निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा भित्रै प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।
प्रेस चौतारी मोरङले आज विराटनगरमा उम्मेदवारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उम्मेदवार घिमिरेले मतदाताहरुले मुख्यगरि सडकको स्तरोन्नती, डुवानको समस्या, स्वास्थ्य उपचार, कृषकका सवालहरुलाई प्राथमिकता दिएको बताउनुभयो ।
पटक–पटक जितेर गएकाहरुले काम नगरेको भन्दै गुनासो गर्ने मतदाताहरुको ठुलो जमात आफुले पाएको उहाँले बताउनुभयो।
मतदाताका सुझाव र मोरङ क्षेत्र नंं ४ को समग्र विकासलाई केन्द्रीत गरेर प्रतिबद्धता पत्र सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
पहिलो चरणको घरदैलो कार्यक्रममा पार्टी सदस्यहरुसँग पुग्ने काम गरिएको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ पार्टी सदस्य मार्फत भेटघाट गर्दै पार्टीलाई चलायमान बनाईएको छ।’ फागुन ४ गतेदेखि टोलसभा, कोणसभा, चुनावीसभाहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।
प्रतिनिसभा सदस्यमा मनोनयन दर्तापछिको घरदैलो कार्यक्रममा अभूतपूर्व सहभागिता पाएको घिमिरेले बताउनुभयो । निर्वाचन आयोगको कार्यतालिका अनुशारको चुनाव प्रचारप्रसारको समय पर्खेर मतदाताहरु बसेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ फागुन ४ गतेपछि देखि मोरङ ४ मा एमालेको जनहलर ब्यापक हुने छ।’
नेता घिमिरे कोशी प्रदेश सरकारको संस्थापक सामाजिक विकास मन्त्री हुनुहुन्छ। उहाँले करिव ३ वर्षमा शिक्षा, स्वास्थ्य, खेलकुद, जेष्ठ नागरिक, महिला, बालिका, अपाङ्गता लगायतको क्षेत्रमा उल्लेखनिय कार्य गर्नुभएको थियो ।






प्रतिक्रिया