अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्धभक्ति र अन्धविश्वासमा आफू संलग्न हुन नसकेकाे भन्दै प्रणय शमशेरले छाडे रास्वपा 

अन्धभक्ति र अन्धविश्वासमा आफू संलग्न हुन नसकेकाे भन्दै प्रणय शमशेरले छाडे रास्वपा 


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टीबाट राजीनामा दिनुभएकाे छ। पार्टीभित्रको असन्तोष र व्यक्तिगत विवेकलाई ध्यानमा राख्दै सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएकाे हाे।

नेता राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल सङ्गठन र साङ्गठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाउनु हुँदै पार्टीबाट अलग भएकाे बताउनुभएकाे छ।

बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा राणाले आफ्नो निर्णयको कारण स्पष्ट पार्दै पार्टीका आन्तरिक अभ्यास र पारदर्शिताबारे गम्भीर चिन्ता व्यक्त गर्नु भएकाे छ। नेता राणाले पत्रमा लेख्नु भएकाे छ, ‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु।’

उहाँले पार्टीले आन्तरिक अभ्यास र नेतृत्व चयन प्रक्रियालाई सही ढंगले लागू नगरेकाले भविष्यमा सरकारमा गएर उत्कृष्ट काम गर्ने विश्वास आफूले गर्न नसक्ने उल्लेख गर्नु भएकाे छ। राणाले अन्धभक्ति र अन्धविश्वासमा आफू संलग्न हुन नचाहेको स्पष्ट पार्नु भएकाे छ।

राणा पछिल्लो समय प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले सञ्चालन गरेको ‘प्राइमरी इलेक्सन’मा असन्तुष्ट हुनुहुन्थ्याे। उहाँले पत्रमा लेख्नु भएकाे छ, ‘प्राइमरी चुनावमा सधैँ ५० प्रतिशत चलखेलको बाटो राखियो, अहिले आएर विशेष परिस्थितिको नाममा संगठनले आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो।’

उहाँले प्राइमरी प्रक्रियाका लागि उठाइएको सदस्यता शुल्क र रकमको अपारदर्शिता तथा अनियमितताबारे पनि चिन्ता व्यक्त गर्नु भएकाे छ ।  राणा अनुसार, ‘१००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनिएको रकम कहिल्यै आएन, र त्यसको व्यवस्थापनमा वित्तीय अपारदर्शिता देखियो।’

राजीनामासँगै प्रणय शमशेर राणाले आफ्नो राजनीतिक विवेक र व्यक्तिगत इमानलाई उच्च प्राथमिकतामा राख्दै पार्टीभित्रको वर्तमान अभ्यासप्रति गम्भीर चेतावनी पनि दिएका छन्।