अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो चुनावमा एमालेको विजयलाई कसैले रोक्न सक्दैन: आनन्द पोखरेल

यो चुनावमा एमालेको विजयलाई कसैले रोक्न सक्दैन: आनन्द पोखरेल


काठमाडौं-नेकपा एमालेका नेता आनन्द पोखरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ। एक लिखित धारणा सार्वजनिक गर्दै नेता पोखरेलले यस्तो बताउनु भएको हाे ।

नेता पोखरेलले ‘सत्ता परिवर्तनको मात्र प्रक्रिया नभई देशको स्वाधीन र आत्मनिर्भर राजनीतिक दिशा तय गर्ने निर्णायक घडी’का रूपमा व्याख्या गर्नुभएको छ। उहाँले एमालेको जितलाई नै ‘सार्वभौमसत्ता र नेपालीको जित’ भएको दाबी गर्नुभएको छ।

एक लिखित धारणा सार्वजनिक गर्दै नेता पोखरेलले वर्तमान राजनीतिक परिस्थितिमा एमाले देशी-विदेशी शक्ति, प्रतिस्पर्धी दल तथा ‘विभिन्न प्रतिक्रियावादी स्वार्थ’को दबाबमा परेको अनुभूति कार्यकर्ता र समर्थकले गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार यस्तो ‘घेराबन्दी’ चिर्दै निर्वाचन जित्न भावनात्मक नाराभन्दा पनि राजनीतिक, संगठनात्मक र व्यवहारिक कदम चाल्नुपर्ने आवश्यकता छ। ‘यो केवल निर्वाचन प्रक्रिया जस्तो देखिए पनि सारमा नेपाली मूलधारको राजनीतिबाट एमालेलाई बाहिर धकेल्ने षड्यन्त्र हो,’ उहाँले भन्नुभएको छ, ‘यो हाम्रो पार्टी, केपी ओली, मार्क्सवाद र राष्ट्रियताविरुद्धको अभियान हो।’

नेता पोखरेलले एमालेमाथिको दबाब पार्टीको कमजोरीका कारण नभई राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र स्थायित्वको राजनीतिप्रतिको दृढ अडानका कारण आएको जिकिर गर्नुभएको छ। बाह्य शक्तिसामु नझुक्ने नेतृत्व ‘स्वार्थ साधनको बाधक’ बनेकाले निर्वाचनमार्फत एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको उहाँको आरोप छ।

उहाँले भदौ २४ को ‘विध्वंस’पछि सुरु भएको राजनीतिक क्रमकै निरन्तरता वर्तमान निर्वाचन भएको उल्लेख गर्दै यसलाई एमालेविरुद्ध प्रयोग गर्न खोजिएको ‘हतियार’को संज्ञा दिनुभएको छ।

इतिहासमा कम्युनिष्ट आन्दोलनले घेराबन्दी र दमन सामना गर्दै विजय हासिल गरेको स्मरण गराउँदै उहाँले एमाले कुनै पनि प्रतिस्पर्धाबाट पछि नहट्ने बताउनुभएको छ। ‘हाम्रो मार्गदर्शन जनताको बहुदलीय जनवाद हो। प्रतिस्पर्धामार्फत जनताको मत, विश्वास र सहभागिताबाट राजनीति गरेका छौं,’ उहाँले उल्लेख गर्नुभएको छ।

नेता पोखरेलले २०४८ सालदेखि ‘जनताको भट्टिमा खारिएर’ आएको एमालेको विजयलाई यसपटक पनि कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ। उहाँले निर्वाचन जित्ने आधार गठबन्धन वा ‘अनुचित लेनदेन’ नभई जनताको बलियो समर्थन नै भएको दाबी गर्नुभयो।

आगामी निर्वाचनमा जनजीविकाका मुद्दा महँगी, रोजगारी, किसान–मजदुरका समस्या, विकास–समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्नुपर्ने उहाँको भनाइ छ। युवाको विश्वास जित्न स्पष्ट कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उहाँले सीप, उद्यमशीलता र प्रविधिमा आधारित अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। ‘युवाले भाषण होइन, भविष्यको खाका खोजिरहेका छन्,’ उहाँले भन्नुभएको छ, ‘अवसरका लागि विदेश होइन, देशमै सम्भावना सिर्जना गर्ने दृष्टि एमालेले प्रस्तुत गर्नुपर्छ।’

उहाँले पार्टीभित्र आन्तरिक एकता पहिलो शर्त भएको उल्लेख गर्दै ‘निर्णायक संघर्षमा पार्टीको निर्णयभन्दा माथि केही हुँदैन’ भन्ने सन्देश दिनुभएको छ। उहाँले सबै पार्टी शक्तिलाई एकताबद्ध भएर निर्वाचनमा जुट्न आह्वान गर्नुभएको छ। ‘यो चुनाव कुनै एक दलको मात्र होइन, जनताको सार्वभौम अधिकार र लोकतन्त्रको भविष्यसँग जोडिएको विषय हो,’ नेता पोखरेलले भन्नुभएको छ, ‘एमालेको जित नै सार्वभौमसत्ता र नेपालीको जित हो।’