अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा अध्यक्ष ओलीका ७ दिन: ८० वटा टोलमा मतदातासँग साक्षात्कार

झापामा अध्यक्ष ओलीका ७ दिन: ८० वटा टोलमा मतदातासँग साक्षात्कार


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक हप्तासम्म मतदातासँग भेटघाट गरेर काठमाडौं फर्कनु भएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आउनु भएका अध्यक्ष ओलीले तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गरेर आज फर्कनु भएको हो।

निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओलीले गौरादह,कमल र गौरीगञ्ज गाउँपालिकाका टोल-टोलमा मतदाताका स्याबासी,गुनासा र समस्या सुनेर काठमाडौं फर्कनुभएको छ। दमक नगरपालिकाका १० वटै वडाका करिब ४० वटा टोलमा फागुन ४ गते पछि अध्यक्ष ओली मतदाता भेट्न जानुहुनेछ। ‘तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग अध्यक्षले प्रत्यक्ष संवाद गर्नुभएको छ। मतदातासँग भेटेपछि उहाँ उत्साहित भएर फर्कनु भएको छ ’ संयोजक दाहालले भन्नुभयो ‘मतदाताले उहाँलाई खुलेर प्रश्न गरेका छन्। गुनासो राखेका छन् समस्या सुनाएका छन् । र,राष्ट्र र राष्ट्रियताको पक्षमा अडान लिएकोमा धन्यवाद पनि दिएका छन् ’


कमल गाउँ कमिटीका अध्यक्ष हरी ढकालका अनुसार अध्यक्ष ओली मतदाता र निर्वाचन क्षेत्रबाट टाढिने नेता होइन । कतिपय नेताहरु निर्वाचन जितेपछि भूगोलतिर नफर्किने भनेर आलोचना खेप्छन्। तर ओलीलाई त्यो समस्या छैन । ‘ २०७४ पछि प्रधानमन्त्री भएका बेला पनि उहाँ कम्तीमा दुई महिनामा एक पटक निर्वाचन क्षेत्र आउनुहुन्थ्यो ’ ढकालले भन्नुभयो ‘यस पटक पनि भदौ २७ गते निर्वाचन क्षेत्रमा कार्यक्रम राखेका थियौं । भदौ २३/२४ को घटनापछि स्थितीले नयाँ मोड लियो ।’
निर्वाचन परिचालन कमिटीका सचिव नारायण गौतमका अनुसार कमल गाउँपालिकाका ३० वटा टोलमा अध्यक्षले भेटघाट गर्नुभएको छ । भेटघाटमा मतदाताले स्थानीय ठाउँको विकास,रोजगारी,शिक्षा तथा अस्पताल निर्माणका मागहरु राखेका छन् । ‘अधिकांस मतदाताले स्थानीय विषयलाई नै प्रमुख मुद्धा बनाएर अध्यक्षसँग प्रष्तुत गरेका छन्’ गौतमले भन्नुभयो ।


पश्चिम दक्षिण झापाको गौरादह ६ का मतदाता जयराम सापकोटाका अनुसार रतुवाको कटानमा परेका यस क्षेत्रका मतदाताले रतुवा खोलामा स्थायी तटबन्धन,यही खोलामा पक्की र झोलुंगे पुल र अस्पताल निर्माणको माग गरेका छन् । ‘अध्यक्षज्यूलाई हामीले स्कूलचौन दामुना जाने सडकलाई पिच गर्न,रतुवामा तटबन्धन गरेर बाढी र डुबानबाट बचा

उन र यसै क्षेत्रमा सुविधा सम्पन्न अस्पताल स्थापना गरिदिन माग गरेका छौं’ सापकोटाले भने ।
यस्तै दामुना बजारका मतदाताले पार्टीका अन्तरविरोध मिलाइदिन,कार्यकर्तालाई जनतासँग जोडिन र सुशासनलाई व्यबहारमा उतार्न माग गरेका छन् । उनीहरुले स्थानीय तहका जनप्रतिनिधि,मुख्यमन्त्री लगायत यस क्षेत्रका जनप्रतिनिधिलाई जनता समस्यामा गम्भिर भइदिन सम्झाइदिन आग्रह गरेका छन् । वडा नं ६ कै सिंगीयाडुबाका बासिन्दाले त अध्यक्ष ओलीलाई नेपाली कागजमा ६ बुँदे माग लिखित रुपमा नै पेश गरेका छन् । मागपत्र पेश गर्दै एमाले वडा कमिटीका उपाध्यक्ष दुर्गा गनगाईले दामुनाबाट सिंगियाडाँगी हुँदै सिंजुवा जाने बाटो पिच हुनु पर्ने र रतुवा खोलामा पक्की पुल निर्माण गर्न माग गर्नुभएको छ । यसैगरी दामुनाबाट हुलाकी सडक जाने कृषि सडक पनि तत्काल पिच गरेर किसानका उत्पादनलाई भारतीय बजार पुर्याउन सहज बनाइदिनुपर्ने गनगाईंले माग गर्नु भएको छ ।
गौरीगञ्ज गाउँपालिकाको सिमावर्ती क्षेत्र देवानगञ्जका मतदाताले मोइवालको टावर राखिदिन माग गरेका छन् । टावर नभएका कारण भारतीय टावरमा निर्भर हुनु परेको गुनासो उनीहरुले चर्को रुपमा उठाएका छन् । सो क्षेत्रका मतदाताले आफ्नो गाउँ टोलमा फेरी फेरी आइदिन पनि माग गरेका छन् । गौरादह चैतुचोककी रमिला राजवंसीले ओलीलाई आफूलाई ठुला ठुला कुरा भन्दा रोजगारी गरेर खाने मेलो मिलाइदिन माग गरिने । उनले रोजगारीकै लागि विदेशिएका श्रीमान्लाई पनि गाउँमै रोजगारी गर्ने वातावरण मिलाइदिन उनले माग गरिन् ।
दक्षिण झापाको ग्वालडुब्बा निवासी प्रदेश कमिटी सदस्य अमर शिवाकोटीका अनुसार एकहप्तामा अध्यक्ष ओलीले हजारौं मतदातालाई भेट्नु भएको छ । अध्यक्ष ओली ‘फस्र्ट हेण्ड इन्फरमेसन’ मा विश्वास गर्ने नेता भएकोले धेरै मतदाता भेट्न गाउँ गाउँ पुग्नु भएको हो । ओली यस अघिका निर्वाचनमा पनि यसैगरी गाउँ गाउँ जाने गरेको शिवाकोटी बताउनुहुन्छ । ‘यस पटक दक्षिणका मतदाताले अध्यक्षसँग राम्ररी कुरा गर्न पाएका छन् । केहीले असन्तोष व्यक्त गरेका छन् ’ शिवाकोटी भन्नुहुन्छ ‘आफ्ना प्रतिनिधिलाई प्रश्न सोध्ने अधिकार हरेक मतदातालाई हुन्छ । प्रतिनिधिले मतदातालाई जवाफ दिने दायित्व पनि हुन्छ । अध्यक्षले हरेक प्रश्नको जवाफ दिनुभएको छ । ’
एमालेका वडाका नेताहरुका अनुसार अध्यक्ष ओलीप्रति भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा रहेका भ्रम पनि प्रत्यक्ष रुपमा हटाउन यसपालीको गाउँ टोलको भेट सहयोगी भएको छ ।