अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ४ बाट ह्याट्रीकको तयारीमा एमालेका एलपी साँवा

झापा ४ बाट ह्याट्रीकको तयारीमा एमालेका एलपी साँवा



दमक- आसन्न फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ४ को राजनीतिक सरगर्मी तीव्र बनेको छ। उम्मेदवारहरू घरदैलो अभियानमार्फत मतदातासम्म पुगिरहेका छन् भने मतदाताहरू पनि विकल्पबारे गम्भीर छलफलमा जुटिरहेका छन्। यही सन्दर्भमा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुको घरदैलो कार्यक्रमले गति लिएको देखिन्छ।
लिम्बु यस क्षेत्रबाट चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको हो। यसअघि दुई पटक निर्वाचित भइसकेका उहाँ यस पटक समेत निर्वाचित भई ‘ह्याट्रीक’ गर्ने तयारीमा हुनुहुन्छ। विगतका कार्यकालमा स्थानीय पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य र सामाजिक पहुँच विस्तारमा देखिएको सक्रियताले उहाँको राजनीतिक आधार बलियो बनाएको मतदाताहरू बताउँछन्।

बलियो सांगठानिक जग
राजनीतिक रूपमा हेर्दा झापा-४ मा एमालेको संगठनात्मक संरचना तुलनात्मक रूपमा मजबुत मानिन्छ। वडा-तहसम्म फैलिएको संगठन, कार्यकर्ताको सक्रिय परिचालन र केन्द्र-प्रदेश–स्थानीय तहबीचको समन्वयले लिम्बुको अभियानलाई धार दिएको छ। घरदैलो क्रममा उनी मतदातासँग प्रत्यक्ष संवाद, विगतका कामको मूल्यांकन र आगामी योजनाको स्पष्ट खाका प्रस्तुत गरिरहेका छन्, जुन अन्य उम्मेद्वारमा अपेक्षाकृत कम देखिन्छ ।

यस क्षेत्रमा मुख्य प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका देउमान थेवे र राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु सुस्केरा प्रमुख प्रतिस्पर्धीका रूपमा मैदानमा हुनुहुन्छ । तर वर्तमान राजनीतिक समीकरण, संगठनात्मक शक्ति र मतदातासँगको प्रत्यक्ष सम्बन्धका आधारमा एलपी साँवा लिम्बु अरु प्रतिस्पर्धीहरूभन्दा अघि देखिनु भएको छ। अन्तिम निर्णय मतदाताको हातमा भए पनि चुनावी मैदानको वर्तमान चित्रले उहाँलाई जिततर्फ उन्मुख उम्मेद्वारका रूपमा प्रस्तुत गरिरहेको छ।

टोल तह सम्म परिचालित
नेकपा एमाले झापा क्षेत्र नम्बर ४ ले चुनावी अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रित रणनीति अघि बढाएको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मनोज ताम्लीको संयोजकत्वमा पाँच सय सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको छ।

पार्टीले क्षेत्रभित्रका प्रत्येक पालिका कमिटी, वडा कमिटी तथा टोल कमिटीलाई समेत सक्रिय रूपमा परिचालन गरिसकेको जनाएको छ । घरदैलो अभियान, मतदाता भेटघाट, प्रचार–प्रसार तथा चुनावी व्यवस्थापनलाई एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यले संगठनलाई तल्लो तहसम्म चलायमान बनाइएको एमाले झापा क्षेत्र नम्बर ४ ले जानकारी दिएको छ ।

विगतको अवस्था
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) ले स्पष्ट मतान्तरसहित बिजय हाँसिल गरेको थियो। निर्वाचन परिणामअनुसार नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बुले ४३ हजार ५१५ मत प्राप्त गर्दै सबैभन्दा बढी मत पाउनु भएको थियो। सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबे लिम्बुले २६ हजार ८२२ मत प्राप्त गर्दै दोस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले १४ हजार ६९ मत पाउनु भएको थियो ।

यसरी हेर्दा झापा क्षेत्र नम्बर ४ मा २०७९ को प्रत्यक्ष निर्वाचनमा नेकपा एमालेले स्पष्ट अग्रता कायम गरेको देखिन्। नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी उल्लेखनीय मतसहित तेस्रो स्थानमा देखिएको थियो । निर्वाचन परिणामले झापा–४ मा एमालेको संगठनात्मक बल, मतदाता आधार र राजनीतिक प्रभाव मजबुत रहेको सोहि क्षेत्रका मतदाता बताउँछन् ।