अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्ष गुरुङको प्रतिवद्धता: ‘लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु’

एमाले उपाध्यक्ष गुरुङको प्रतिवद्धता: ‘लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु’


लमजुङ-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताउनुभएको छ।

लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका गुरुङले आफू विजयी भएमा जिल्लालाई सूचना प्रविधिको हब बनाउने गरी काम गर्ने बताउनुभयो। उहाँले सूचना प्रविधिको विकास गरेर ५ वर्षभित्र ५ हजार युवालाई रोजगारीको व्यवस्था गर्ने बताउनुभयो। 

यसैगरी जिल्लाका सबै विद्यालयमा आइसिटी ल्याब स्थापना गरेर सूचना प्रविधिको कक्षा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। जिल्लामा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा सूचना प्रविधिको विकास गर्दै चौविसै घण्टा इन्टरनेटको व्यवस्था गर्ने उहाँले बताउनुभयो। 

यसैगरी सबै सरकारी कार्यालय र वडाहरुमा सूचना प्रविधिको विकास गरी सेवा दिने व्यवस्था मिलाउने योजना आफूसँग रहेको उहाँले बताउनुभयो। कृषिमा एआई प्रविधि भित्र्याएर आधुनिक कृषि खेतीमा जोड दिने उहाँले बताउनुभयो। जिल्लामा रहेका होमस्टे गाउँहरुलाई सूचना प्रविधिमा जोडेर पर्यटन क्षेत्रको विकास गर्न आफुँ लागिपर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘१३ महिना सञ्चार मन्त्रालय चलाएको अनुभवले यो सबै कुरा भन्दैछु। जिल्लालाई आइटीको हब बनाउन सकियो भने, जिल्ला पनि धनी हुने छ, रोजगारी पनि मिल्नेछ।’ 

यसपटक सबै राजनीतिक दलहरु एकल प्रतिस्पर्धामा रहेकाले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘२०७९ को निर्वाचनमा पनि एमालेमाथि घेराबन्दी थियो। पाँच दलीय गठबन्धन थियो, मेरो जीत भयो। मैले कुनै भ्रष्टाचार, अनियमता गरेको छैन, यस पटक मैले हार्नुपर्ने कुनै कारण छैन।’

नेता गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि, एमालेले सुरु गरेका विकास निर्माणका कामहरु पूरा गर्न आफू र आफ्नो पार्टीको जीत अनिवार्य भएको बताउनुभयो।