काठमाडौं-यस वर्षको महाशिवरात्रि पर्व माघ २ गते आइतबार अर्थात् भोलि परेको छ। आराध्यदेव भगवान् पशुपतिनाथको मुख्य पर्व महाशिवरात्रिका लागि पाशुपत क्षेत्र यतिबेला दुलहीझैँ सिँगारिएको छ। शिवरात्रिको स्वागतका लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ र बिजुली बत्तीको सजावटसँगै सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पर्वलाई लक्षित गरी छिमेकी मुलुक भारतसहित देशका विभिन्न स्थानबाट साधु–सन्त र नागा बाबाको बाक्लो आगमन भइसकेको छ। भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने दर्शनार्थीको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष यातायात व्यवस्थापन योजना सार्वजनिक गरेको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत-जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन गरिएको हो ।
पशुपति दर्शन गर्न आउनेहरुका लागि निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने ट्राफिकले जनाएको छ ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अवस्थामा भने डाईभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने जनाइएको छ ।
तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई आवश्यकता अनुसार निषेध गरिएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने योजना छ ।
यस्तो छ पार्किङको व्यवस्था
दर्शनार्थी र पर्यटकको सहजताका लागि प्रहरीले ६ वटा फरक–फरक ठाउँमा पार्किङको व्यवस्था गरेको छ :-
१. सिफल चौर: दर्शनार्थी, पासवाहक र सुरक्षाकर्मीका सवारी साधनका लागि ।
२. गुहेश्वरी पारि: तीर्थयात्री र दर्शनार्थीका सवारीका लागि ।
३. तिलगंगा आँखा अस्पताल र करिडोर: दर्शनार्थी, पर्यटक र तीर्थयात्रीका सवारीका लागि ।
४. पशुपति विकास कोष कार्यालय (भण्डारखाल): सवारी पासवाहक गाडीहरूका लागि ।
५. वनकाली क्षेत्र: शिविर सञ्चालन गर्ने संस्था, दमकल, एम्बुलेन्स र खानेपानीका साधनका लागि ।
६. प्रहरी वृत्त गौशाला परिसर: सरकारी र पासवाहक सवारी साधनका लागि ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीले महाशिवरात्रिका दिन पशुपति क्षेत्र भएर यात्रा गर्दा वैकल्पिक मार्गको प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।







प्रतिक्रिया