वीरगञ्ज-वीरगञ्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरुलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसूरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा-१ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं. १० घडिअर्वाका ४६ वर्षीय प्रमोदकुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्रप्रसाद साह , भारत विहार मोतिहारी रक्सौलका ४० वर्षीय प्रभु महतो, भागलपुर पोडियाका ३५ वर्षीय पृतमकुमार चौधरी रहेका छन्।
गत माघ २६ गते बिहान वीरगञ्ज आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा भण्डारन गरिएको अवैध सामान नियन्त्रणमा लिन गएको सशस्त्र प्रहरी बल, वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधि तथा सुरक्षाकर्मीको संयुक्त टोलीमाथि आक्रमण गरेको अभियोगमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयाे ।
उहाँले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयाे । घटनामा संलग्न रहेका अन्य अभियुक्तहरुको खोजी कार्य भइरहेको छ भने मुख्य अभियुक्त मदन रुन्चे भनिने वीरगञ्जको घडिअर्वा निवासी मदन गुप्ता फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया