अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुम पूर्वमा प्रचण्डलाई ‘गढ’ जोगाउन चुनौती

रुकुम पूर्वमा प्रचण्डलाई ‘गढ’ जोगाउन चुनौती


काठमाडौं-आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रुकुम पूर्व फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ।

लगातार तत्कालीन माओवादीले जित्दै आएको यहाँको निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी यात्रा यसपटक सहज देखिँदैन। यो निर्वाचन उनका लागि केवल एउटा संसदीय सिटको प्रतिस्पर्धा होइन, बरु आफ्नै राजनीतिक आधारभूमिको पुनः परीक्षणका रूपमा हेरिएको छ।

प्रचण्डले २१ फागुनमा हुने निर्वाचनका लागि यही क्षेत्रमा उम्मेदवारी दर्ता गराएसँगै उहाँले विकास र समग्र प्रगतिको प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

रुकुम पूर्वलाई लामो समयदेखि माओवादी आन्दोलनको गढ मानिँदै आएको छ। जनयुद्धकालमा यो क्षेत्र संगठन, जनशक्ति र राजनीतिक संरचनाको हिसाबले महत्वपूर्ण आधार थियो। त्यसैले विगतका निर्वाचनमा प्रचण्ड वा माओवादी केन्द्रका उम्मेदवारले सहज जित निकाल्ने गरेका थिए । तर यसपटकको वातावरण पहिले जस्तो एकतर्फी देखिँदैन।

गढभित्रै बढ्दो असन्तुष्टि

स्थानीय स्तरमा विकास, रोजगारी, शिक्षा र पूर्वाधारका विषयमा मतदाताको अपेक्षा बढेको छ। विशेषगरी युवा पुस्ताले अब केवल ऐतिहासिक योगदानभन्दा वर्तमान उपलब्धि र भविष्यको योजना हेर्नुपर्ने आवाज उठाउन थालेका छन्।

१८ देखि ३० वर्ष उमेर समूहका मतदाता जनयुद्धको प्रत्यक्ष अनुभव नभएको पुस्ता हो । उनीहरूका लागि रोजगारी सिर्जना, डिजिटल पहुँच, कृषि आधुनिकीकरण र सडक–स्वास्थ्य जस्ता आधारभूत विषय प्राथमिकतामा छन् । यसले परम्परागत भावनात्मक मतलाई व्यवहारिक मुद्दातर्फ मोड्ने संकेत देखिएको छ ।

स्थानीय स्तरमा केही मतदाताले राष्ट्रिय नेता जितेपछि क्षेत्रको विकासमा निरन्तर ध्यान पुग्छ कि पुग्दैन ? भन्ने प्रश्न पनि उठाउने गरेका छन् ।

विपक्षी तयारी र सम्भावित प्रतिस्पर्धा

यस क्षेत्रमा एमाले, कांग्रेस तथा स्वतन्त्र उम्मेदवारहरू सक्रिय देखिएका छन् । विपक्षी दलहरूले संयुक्त रणनीति बनाए प्रतिस्पर्धा कडा हुन सक्ने आँकलन गरिएको छ ।

यदि विपक्षी मत विभाजित भयो भने प्रचण्डलाई लाभ पुग्ने विश्लेषण छ । तर विपक्ष एकजुट भएमा मतान्तर सानो हुन सक्ने आँकलन छ ।

रुकुम पूर्वमा मगर समुदायको उल्लेख्य उपस्थिति छ । साथै दलित, जनजाति र अन्य समुदायको मत पनि निर्णायक मानिन्छ। समुदायगत पहुँच, स्थानीय नेतृत्वसँगको सम्बन्ध र विकासका प्रत्यक्ष अनुभवले मतदान व्यवहारमा प्रभाव पार्ने सम्भावना हुन्छ।

स्थानीय तहका पूर्वप्रतिनिधि, सामाजिक अभियन्ता तथा युवा समूहले चुनावी माहोलमा सक्रियता बढाइरहेका छन् । यसले चुनावलाई केवल दलगत प्रतिस्पर्धाभन्दा पनि सामाजिक प्रभावको प्रतिस्पर्धामा रूपान्तरण गरेको देखिन्छ ।

रुकुम पूर्वमा कुल १२ जना उम्मेदवार चुनावी मैदानमा छन् जसमा प्रचण्ड बाहेक नेपाली कांग्रेस, एमाले, प्रगतिशील लोकतान्त्रिक पार्टी र अन्य साना दलका नेताहरू पनि प्रतिस्पर्धामा छन् ।

सबैभन्दा उल्लेखनीय चुनौती भनेको प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुन हुन् । उनी आफ्नो ऐतिहासिक पृष्ठभूमि र नवीन ऊर्जा लिएर मैदानमा आएका छन् । सन्दीप आफूलाई ‘जनयुद्धका शहीदपुत्र’ र नवयुवाहरूको प्रतिनिधि भनेर प्रस्तुत गरिरहेका छन् । जसले युवापुस्ताका आशा, रोजगारी र विकासमुखी एजेण्डालाई केन्द्रमा राखेर चुनावी अभियान चलाइरहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट कुसुमदेवी थापा मगर र एमालेबाट लीलामणी गौतम पनि प्रतिस्पर्धामा छन् । मगर समूदायको बाहुलियता रहेको क्षेत्र, रुपान्तरित भएको नेपाली कांग्रेस र युवा उम्मेद्वार भएका कारण कुसुमदेवी प्रचण्डका लागि भारी बन्नसक्ने आंकलन गरिएको छ ।

प्रचण्डका पक्षमा माहोल

प्रचण्डका पक्षमा बलियो पार्टी संगठन, दीर्घ राजनीतिक अनुभव र राष्ट्रियस्तरको पहिचान छ । जनयुद्धकालीन योगदानप्रति अझै पनि एक हिस्सा भावनात्मक रूपमा जोडिएको देखिन्छ । साथै, पार्टीको संरचनात्मक उपस्थिति गाउँ–गाउँसम्म रहेकाले चुनावी परिचालन सशक्त हुने अपेक्षा गरिएको छ । गठबन्धनको सम्भावित समीकरणले पनि उनलाई सहयोग पुग्न सक्छ ।

चुनौती कति गहिरो ?

यद्यपि परम्परागत रूपमा सुरक्षित मानिएको क्षेत्र भए पनि यसपटकको चुनाव सहज जितको रूपमा चित्रित गर्न कठिन देखिन्छ । युवा असन्तुष्टि, विकासप्रतिको अपेक्षा र विपक्षी सक्रियताले प्रतिस्पर्धालाई रोचक बनाएको छ ।

यो निर्वाचनले केवल एउटा सिटको नतिजा मात्र निर्धारण गर्ने छैन, बरु ग्रामीण क्षेत्रमा नेतृत्वप्रतिको विश्वास, परिवर्तनको चाहना र राजनीतिक ध्रुवीकरणको स्तरसमेत देखाउनेछ ।

रुकुम पूर्वको चुनावी मैदान अहिले प्रतीक्षामा छ—के प्रचण्डले आफ्नो पुरानो गढ जोगाउनेछन्, वा मतदाताले नयाँ राजनीतिक सन्देश दिनेछन् ?

जे भएपनि, यो निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा प्रतिकात्मक अर्थ राख्ने निश्चित छ । गढभित्रैको यो परीक्षा प्रचण्डका लागि व्यक्तिगत र पार्टी दुवै हिसाबले महत्वपूर्ण मानिएको छ ।