भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव एवं भक्तपुर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले बंगलादेशको हालै सम्पन्न निर्वाचन परिणामले अराजक नाराभन्दा स्थायित्व र जिम्मेवार नेतृत्वलाई जनताले प्राथमिकता दिएको सन्देश दिएको बताउनुभएको छ।
सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै छिमेकी देशको जनादेशले लोकतन्त्रको परिपक्वता देखाएको उल्लेख गर्नुभएकाे छ। उहाँका अनुसार बंगलादेशमा ‘बंगलादेश नेसनालिस्ट पार्टी'(बीएनपी)ले बहुमत सिट जित्दै सरकार निर्माणतर्फ अग्रसर हुनु र नेशनल सिटीजन पार्टी लगायत शक्तिहरू पछि पर्नु अर्थपूर्ण राजनीतिक सन्देश हो।
सचिव बस्नेतले नव–उदारवादी शक्तिहरूका खोक्रा नारा र अराजक राजनीतिलाई जनताले अस्वीकार गरेको दाबी गर्नुभएकाे छ। उहाँले विकास, स्थिरता र राष्ट्रिय हितको पक्षमा उभिने शक्तिलाई जनमत प्राप्त हुनु लोकतान्त्रिक परिपक्वताको संकेत भएको बताउनुभएकाे छ। ‘आन्दोलन र उत्तेजनाभन्दा नीतिगत स्पष्टता र परिणाममुखी शासन रोज्ने जनताको निर्णय सम्मानयोग्य हुन्छ,’ उहाँको भनाइ छ।
उहाँले जनताको मतले फेरि प्रमाणित गरेको उल्लेख गर्दै अराजकताले होइन, उत्तरदायित्वपूर्ण नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्ने धारणा व्यक्त गर्नुभयो। नेपालमा निर्वाचनको पूर्वसन्ध्यामा आएको छिमेकी मुलुकको परिणामले नेपाली मतदातालाई पनि आफ्नो मतको मूल्य, स्थायित्वको आवश्यकता र राष्ट्रहितको प्राथमिकताबारे गम्भीर समीक्षा गर्न प्रेरित गर्ने उहाँको विश्वास छ।
सचिव बस्नेतले अन्तिम निर्णय जनताकै हातमा रहने उल्लेख गर्दै छिमेकी मुलुकको अनुभवले सोच र विश्लेषणमा प्रभाव पार्न सक्ने धारणा व्यक्त गर्नुभयो।
विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सन् २०२४ अगस्ट ५ मा भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएपछि बंगलादेशमा पहिलोपटक बिहीबार (फेब्रुअरी १२ तारिख) संसदीय निर्वाचन भएको हो। सम्पन्न निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) एक्लैले २०९ सिट जितेको छ भने यसका सहयोगीले ३ सिट जितेका छन्।
बंगलादेशको निर्वाचन आयोगले २९९ निर्वाचन क्षेत्रमध्ये २९७ स्थानको अन्तिम नतिजा घोषणा गरेको छ। जसमा विपक्षी बंगलादेश जमात-ए-इस्लामीले ६८ सिट जितेको छ भने यसका सहयोगीले ९ सिट जितेका छन्।
हसिनाको १५ वर्ष शासन अन्त्य गराउने विद्यार्थी विद्रोहबाट खुलेको नयाँ दल नेसनल सिटिजन पार्टी (एनसीपी) ६ सिट जितेको छ। यद्यपि यो पार्टीले ३० सिटमा मात्र उम्मेदवारी दिएको थियो।






प्रतिक्रिया