काठमाडौं-नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया नै मतदानको आधार नबन्ने स्पष्ट पारेको छ।
शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया तथा चुनावी आकलनलाई मतदानको आधार मान्न नमिल्ने बताउनुभयो। उहाँका अनुसार वास्तविक जनविश्वास मतपत्रमार्फत् मात्र प्रकट हुने गर्दछ।
“प्रतिक्रिया स्वाभाविक हुन्छ । प्रतिक्रिया नै मतदानको आधार बन्दैन,” उहाँले भन्नुभयो, “प्रतिक्रिया सामाजिक सञ्जालमा पोखिन सक्छ, तर विश्वास मतपत्रमा देखिन्छ । ती फरक विषय हुन् ।”
उहाँले जनताको निर्णय नै शासनको वैधताको आधार हुनेमा कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । निर्वाचनपछि आउने परिणामलाई पार्टीले सहज रूपमा स्वीकार गर्ने उहाँको भनाइ थियो ।
प्रवक्ता चालिसेले आसन्न निर्वाचनमा कांग्रेस एकताबद्ध रूपमा अघि बढिरहेको जानकारी दिँदै पार्टीका उम्मेदवारहरू सिद्धान्तका प्रतीक भएकाले उनीहरूलाई विजयी गराउने दायित्व सम्पूर्ण नेता तथा कार्यकर्ताको रहेको बताउनुभयो ।
उहाँले फागुन ३ गते (आइतबार) चुनावी घोषणापत्र सार्वजनिक गरिने र त्यसपछि नियमित प्रचारप्रसारसहित विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।
मुलुकको यथार्थ अवस्थाको चित्रण गर्दै सुशासन र विकासलाई समयसीमासहित कार्ययोजनामा समेटिने उहाँले स्पष्ट पार्नुभयो । शासकीय सुधार तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई पनि घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिने उहाँको भनाइ थियो ।






प्रतिक्रिया