बिर्तामोड-झापा क्षेत्र-२ मा नेकपा एमालेले २५ वटै वडामा निर्वाचन परिचालन समिति गठन गरेको छ। शनिवार अर्जुनधारा २ मा वडास्तरीय परिचालन समिति घोषणा गर्दै क्षेत्रको सबै वडामा समिति घोषणा सम्पन्न भएको जनाएको छ।
पार्टीका नेता कार्यकर्ताको भेटघाटलाई तीब्रता दिएको एमालेले वडावडामा एमालेको परिचालन समिति बनाएर निर्वाचन प्रचारप्रसारलाई गति दिएको परिचालन समितिका संयोजक एकराज कार्कीले जानकारी दिनुभयाे। उहाँका अनुसार वडा वडामा एमाले एकढिक्का भएर चुनावमा होमिएको छ। अर्जुनधारा २ को भेलालाई सम्बोधन गर्दै संयोजक कार्कीले एमाले एक ढिक्का गरेर जाने निर्णय गरेको जानकारी दिनुभयाे।
कार्कीले क्षेत्रमा वडास्तरीय परिचालन घोषणाका क्रममा सबैले एमाले एक ढिक्का हुने र पार्टीको उम्मेदवार देवराज घिमिरेलाई विजयी गराउने दृढ संकल्प गरिएको जनाए। वडा तहको कार्यक्रममा उहाँले अरुसँग प्रतिष्पर्धा गर्ने समयमा आन्तरिक एकतालाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् ।

फागुन २१ को निर्वाचन विकाससँगै राष्ट्र जोगाउने सवाल भएको औल्याउदै उनले मतदाताहरुलाई सोही अनुसार सहजीकरण गर्न आग्रह गरेका छन् । सामाजिक एवम् राजनीतिक क्षेत्रमा उमेर भन्दा पनि लगनशिलता र भिजन अनिवार्य हुनुपर्ने उनको धारणा छ ।
निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार देवराज घिमिरेले झापा २ मा मतदातासँग मन जितेर मत माग्ने हक भएको बताउनुभयाे । उहाँले ५ वर्षका लागि मतदान गरेको भन्दै थालेको काम पूरा गर्नुपर्ने दायित्व आफूसँग भएको बताउनुभयाे। अघिल्लो पकट यसै क्षेत्रका मतदाताको मतबाट विजयी भएको बताउदै उनले यस क्षेत्रमा अरबौं रुपैयाँको बजेट ल्याएर विकासको काम गरेको अवगत गराउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘धेरै काम सम्पन्न भएको छ, धेरै काम निर्माणको चरणमा छ। त्यसलाई पूरा गर्न पनि २ नं. क्षेत्रमा मतदाताले निर्वाचित गराउनेमा विश्वास लिएको छु ।’

कोशी प्रदेशका मन्त्री चिन्तन पाठकले घिमिरे विजयी हुँदा जनताका समस्या सिधा सम्पर्क गरेर राख्न सकिने धारणा व्यक्त गरे । पहिले पनि सिधा सम्पर्क गरेर क्षेत्रका लागि काम गरियो, फेरि पनि गर्न सक्छौं, उहाँले भन्नुभयाे ।
कार्यक्रममा सहभागीहरुले अनुशासित र सालिन उम्मेदवार पाएको प्रतिक्रिया दिएका छन्। अधिकांशले घिमिरेले क्षेत्रमा धेरै विकास योजनाहरु ल्याएको बताउनुभयाे । उनीहरुले स्थानीय समस्याहरु समेत राखेका थिए ।







प्रतिक्रिया