दमक-नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले चुनावको संघारमा पार्टीका आन्तरिक विवादलाई थाती राखेर एकजुट हुनुपर्ने बताउनुभएको छ ।
दमक नगरपालिका वडा नं ६ को विस्तारित बैठकलाई आज सम्बोधन गर्दै भण्डारीले सो कुरा बताउनुभएको हो । फागुन २१ गते हुने निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति खर्चिनु पर्ने बताउदै भण्डारीले देश जलाउनेका विरुद्ध देश बनाउनेको प्रतिष्पर्धा एमालेले जित्नुपर्ने बताउनुभयो । उहाँले झापा ५ ले यस अघिका निर्वाचनमा रचेको इतिहासलाई यस पटक पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । भदौ २३,२४को विध्वस्सपछि देश रहने कि नरहने भन्ने अन्यौल सृजना भएकोले त्यसका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मत दिएर जिताउन सम्पूर्ण कार्यकर्ता परिचालन हुनुपर्ने उहाँको भनाइ छ ।
बैठकले आगामी ११ गते दमकमा हुने नेसनल भोलेन्टियर्स फोर्सको प्रदेश स्तरीय कार्यक्रममा कम्तीमा १ हजार जना सहभागी गराउने निर्णय गरेको निर्वाचन परिचालन कमिटीका संयोजक डा.बुद्धिशेखर भट्टराईले जानकारी दिनुभयो । बैठकले निर्वाचनका दिन विभिन्न बुथ स्तरीय जिम्मेवारी विभिन्न नेताहरुलाई दिने निर्णय समेत गरेको छ ।






प्रतिक्रिया