काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नुभएको छ। प्रतिनिधिसभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका अध्यक्ष ओली निर्वाचन प्रचारप्रसारको लागि झापा जानुभएको हो।
गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौं फर्कनु भएका अध्यक्ष ओली आज फेरि झापा जानु भएको हो। उहाँ काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा झापा पुग्नुभएको हो।
आजको कार्यक्रमअनुसार अध्यक्ष ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनुहुने छ। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो।
एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली २०८२ फागुन ६ गतेसम्म झापामै बस्नुहुने छ। यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ।
एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोक, ११:५० मा दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपरान्ह ४ बजे दमक–३ कै आमचोकमा कार्यक्रम आयोजना गरिएको छ।
यी सबै स्थानमा ओलीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्न सक्ने वातावरण मिलाइएको अध्यक्ष पौडेलले बताउनुभयो।








प्रतिक्रिया