अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उम्मेदवार विनोद ढकालद्वारा मोरङ-६ को विकासका लागि ३० बुँदे प्रतिबद्धतापत्र

एमाले उम्मेदवार विनोद ढकालद्वारा मोरङ-६ को विकासका लागि ३० बुँदे प्रतिबद्धतापत्र


विराटनगर-मोरङ क्षेत्र नं. ६ का नेकपा एमालेका उम्मेदवार विनोद ढकालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

पितृशोकमा रहनु भएका ढकालको निवासमा क्षेत्र नं. ६ का चुनावी कमाण्डर लालबाबु पण्डित, एमाले निर्वतमान उपाध्यक्ष गुरु बराल, केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज ऋषिकेश पोखरेल लगायतका नेताहरुको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय निर्वाचन परिचालन कमिटीका सचिव सत्यनारायण चौधरीले प्रतिबद्धताहरु वाचन गर्नुभएको थियो ।

उम्मेदवार ढकालले पूर्वाधार, उद्योग, स्वास्थ्य, शिक्षा, कला संस्कृति, कृषि, पर्यटन, खेलकुद, नवप्रवर्तन, लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर ३० बुँदे प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएको छ । उहाँले यसअघि सो क्षेत्रबाट निर्वाचित एमाले पूर्व सांसद लालबाबु पण्डितका कार्यकालमा शुरु भएर अधुरा रहेका परियोजनाहरुलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

चारकोशे जंगल क्षेत्रमा हात्तीको र बुढीगंगाको हात्तीमुढा क्षेत्रमा बाँदरको आतंक नियन्त्रण गर्ने, विराटनगरको ढल निकास र डुबान समस्या समाधान गर्न गुरुयोजना बनाई लागू गर्ने, चक्रपथसहितको प्रमुख सडक स्तरोन्नति गरी कालोपत्रे बनाउने, बन्द भएका र रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल गर्दै मजदुरको हितमा विशेष कार्यक्रम ल्याउने र साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्ने लगायतका प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएको छ ।

क्षेत्र नं. ६ मा फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसारलाई ब्यापक बनाउनुअघि उम्मेदवार ढकालले प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएको हो । उहाँले जेन्जीहरूलाई आधुनिक प्रविधिमार्फत नव प्रवद्र्धनात्मक सिकाई र उच्च शिक्षाका विद्यार्थीका लागि ‘पढ्दै, कमाउँदै’ कार्यक्रम, मठमन्दिर, मस्जिद, चर्च, गुम्बा, थान आदि सांस्कृतिक धरोहरहरूको संवद्र्धन गर्ने, थारु समुदायको भाषा, संस्कृति, चाड, पर्व र रीतिरिवाजको संरक्षण गर्दै समय अनुसारको विकास गर्ने, मल, खाद तथा बीउ समयमै उपलब्ध गराउने व्यवस्था गर्दै कृषि सिँचाइको प्रबन्ध र अग्र्यानिक कृषिलाई व्यवसायीकरण गर्ने, कृषि उपज संकलन केन्द्र र शीत भण्डार सञ्चालन गर्न प्रोत्साहित गर्ने प्राथमिकताका विषयहरु अघि सार्नुभएको छ ।

उम्मेदवार ढकालले सुन्दरहरैंचाको ६ पोखरी, बुढीगंगाको सिंगिया खोला र बौराहाको मधुपार्कसहित अन्य पार्कहरूको स्थापना र प्रवद्र्धन गर्ने, हसिना सिमसारलाई पर्यटकीय क्षेत्र बनाउने, कोशी नहरको विराटनगर शाखा कोरिडोर, गछिया र बुढीखोलामा एकातर्फ सडक र अर्काे किनारालाई सुन्दर र हरियाली बनाउने, निर्वाचन क्षेत्र स्तरीय रंगशाला, आवश्यकता अनुसार खेलमैदान र कबर्ड हल बनाउँदै युवालाई खेल र रचनात्मक कार्यमा प्रोत्साहित गर्ने, अव्यवस्थित बसोबासी र सुकुम्वासी समस्या सम्बोधन, विपन्न परिवारका लागि निःशुल्क विद्युतीय चुल्हो कार्यक्रम सञ्चालनमा पहल गर्ने, सिटी रिक्सा चालकलाई सङ्गठित गरी सहुलियत दरमा चार्जिङ सुविधा उपलब्ध गराउने, उत्तरी मोरङको गछियालाई केन्द्र बनाई प्रशासनिक कार्यालयहरू स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

विगतमा एमाले नेता पूर्व सांसद लालबाबु पण्डितले सुरु गरी अधुरो रहेका परियोजनाहरूलाई प्राथमिकताका साथ पूरा गर्ने । पूर्वाञ्चल विश्वविद्यालयबाट हसिना सिमसार जाने पर्यटन मार्ग (सुन्दरहरैंचा ६ र ७ जोड्ने) र गछिया र गोठगाउँलाई ( वडा नं ३ र ४ लाई) जोड्ने पक्की पुल निर्माण गर्ने, कोडिया चौक पश्चिम सुकचर खेलमैदानछेउ बुढी खोलामा पक्की पुल निर्माण गर्ने, गछिया आधारभूत प्राविदेखि पूर्व (वडा नं. ६ र ७ लाई जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने, नेताचोकबाट खनार हुँदै भाइरल पुल जाने नहर किनारको सडकमा कालोपत्रे गर्ने, मिलनचोक–कमलपुर–जोगियारे हुँदै मृगौलिया जाने भूवनेश्वर सडक चौडा गरी कालोपत्रे गर्ने प्राथमिकताको परियोजना रहेको बताउनुभयो ।