अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रौतहटमा ब्राउन सुगरसहित ४ जना पक्राउ


रौतहट-रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार (हिजो) दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट बागमती निवासी ३२ वर्षीय तुलबहादुर लामालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग गरिने सामग्रीहरू बरामद भएको थियो ।

लामालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा खुलेको तथ्यका आधारमा प्रहरीले चन्द्रपुर–४ स्थित गणेश चोकमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई पक्राउ गरेको छ। उनीहरूको कोठाबाट ब्राउन सुगर तौलने मेसिन र प्याकेजिङमा प्रयोग हुने प्लास्टिकका टुक्राहरू समेत बरामद गरिएको छ ।

यसैगरी, अनुसन्धानकै क्रममा सोही साँझ ६ः३० बजे चन्द्रपुर–१ स्थित अमृत घिसिङको घरबाट २९ वर्षीय प्रशान्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट २४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।