झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र मत दिएर नपुग्ने भएकोले आफ्नालाई पनि एमालेमा मत दिने बनाउन आग्रह गर्नुभएको छ। आफू र आफ्ना भए देशैभरि एमालेको विजयलाई कसैले रोक्न नसक्ने उहाँको भनाइ छ।
सहकारीकर्मीहरुसँग गएराति भएको भेटघाटमा अध्यक्ष ओलीले आफ्नो मत दिन र आफ्नालाई मत दिलाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो। ‘पहिला आफू प्रष्ट हुनुहोस्, देशका लागि सम्झनुहोस् । सूर्य चिन्हमा मत दिनुहोस्’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसपछि आफन्त, छिमेकी सबैलाई सम्झाएर सूर्य चिन्ह एमालेमा मत हाल्ने बनाउनुहोस् ।’
‘मैले भेटेका धेरैजनाले हामी सहयोग गर्छौं भन्नुहुुन्छ’ ओलीले भन्नुभयो ‘अहिले तपाईंहरुले दुईवटा सहयोग गर्नुपर्छ। एउटा आफ्नो मत दिने र अर्को आफ्नाहरुको मत दिलाउने।’ अध्यक्ष ओलीले आफूले मात्र मत दिएर नपुग्ने भएकोले शानदार विजयका लागि आफ्नाहरुको पनि मत दिलाउनु पर्ने बताउनुभएको छ ।
निर्वाचनका बेला सबै पेशा र व्यावशायका मानिसहरु आफ्नो ठाउँबाट पार्टीको तर्फमा जनमत बढाउन प्रयत्न गर्नुपर्ने बताउनुभएको छ । उहाँले झापा ५ मा आफ्नो पालामा भएका विकास निर्माणका काम नै निर्वाचन जित्ने प्रमुख आधार भएको बताउनुभएको छ । ‘हाम्रो सरकार हुँदा बजेट विनियोजन गरिएका यस क्षेत्रका केही सडकहरुको बजेट हामी सरकारबाट हटेपछि काटियो’ उहाँले भन्नुभयो ‘जसले गर्दा यस वर्ष हुनुपर्ने कामहरु ठप्पै भए । तर यो अवस्था लामो समय रहदैन ।’
अध्यक्ष ओलीले सानो बचत र सानै लगानीले मानिसको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने उद्धेश्यले सहकारी अभियान सुरु गरिएकोमा अहिले केही व्यक्तिले त्यसको व्यापक दुरुपयोग गरेको बताउनुभयो । ‘जनताले गाँस काटेर बचत गरेको रकममा केही व्यक्तिले ठगी गरेका छन् । सहकारीहरु लुटिएका छन्’ अध्यक्ष ओलीले भन्नुभयो ‘आफ्नो सहकारीलाई पारदर्शी बनाउनुहोस । जनताको आर्थिक स्थिती उकास्न सहयोग पुग्ने गरी लगानी गर्नुहोस । ’ देशको अर्थतन्त्रको महत्वपूर्ण आधार नै सहकारी भएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले राष्ट्रिय र स्थानीय विकासका एजेण्डालाई जनता माझ पुर्याउन पनि आग्रह् गर्नुभएको छ । ‘अहिले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिती पनि ठिक छैन ’ उहाँले भन्नुभयो ‘एमालेका विरुद्ध सबै एकजुट भएर लागेका छन् ।हामीले यस्ता सबै घेराबन्दी तोड्न एमाले सक्षम छ भनेर पुष्टि गर्नुपर्दछ।’






प्रतिक्रिया