नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले लामो समय पार्टीको सम्पर्क तथा समन्वयको क्षेत्रमा काम गर्नु भयो। झापा दमकका स्थायी बासिन्दा भण्डारी पार्टी भित्रको अन्तर समन्वय गर्ने/गराउने कार्यमा अभ्यस्त मानिनु हुन्छ। हाल उहाँ नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र-५ को सञ्चार संयोजक हुनुहुन्छ। यहाँको निर्वाचनलाई देश र विदेशबाट समेत चासोपूर्वक हेरिरहेको अवस्थामा कसरी चुनावी कार्यक्रमहरू भइरहेका छन् भनेर उहाँसँग कुराकानी गरेका छौं। प्रस्तुत छ, एमाले केन्द्रीय सदस्य एवम् झापा निर्वाचन क्षेत्र-५ का चुनाव प्रचार-प्रसार समिति संयोजक भण्डारीसँग टिकाराम उप्रेतीले गर्नुभएको कुराकानीको अंशः
सर्वाधिक चासोको रूपमा रहेको झापा क्षेत्र-५ को निर्वाचन प्रचारप्रसारको काम कसरी अगाडि बढी रहेको छ ?
नेकपा एमाले झापा क्षेत्र नम्बर ५ मा आसन्न निर्वाचनको सन्दर्भमा पार्टीका गतिविधिहरू विभिन्न ढङ्गले अहिले अगाडि बढिरहेको छ। खासगरी पार्टीका वडासम्म, वडादेखि टोलसम्मका कमिटीहरू अहिले सक्रिय ढङ्गले अगाडि बढेका छन्। सयौँ/हजारौँ कार्यकर्ताहरू एकै पटक जनताका घरदैलोमा जाने अभियान सुरु भएको छ। उहाँहरूले गरेका गतिविधिहरूलाई सामाजिक सञ्जाल र आमसञ्चार माध्यममार्फत् प्रचार-प्रसार गर्ने काम पनि गरिएको छ। प्रचार प्रसारका क्रममा जाँदा जनताले उत्साहपूर्ण ढङ्गले आफ्ना जिज्ञासाहरू पनि राख्नुभएको छ। उम्मेदवार स्वयंदेखि अन्य पार्टीका नेता, कार्यकर्ता, साथीहरूले पनि ती विषयवस्तुहरू जिज्ञासाहरू पूरा गर्ने काम भएका छन्। नेकपा एमालेको बिपक्षमा केही मान्छेहरूले, केही सामाजिक सञ्जाल, केही अन्य शक्तिहरू समेत लागेर विभिन्न ढङ्गले कुप्रचारहरू गर्ने काम पनि भएको छ। त्यस्ता कुराले पनि अलिकति घर गरेको अवस्था देखिन्छ जनताको बीचमा। ती कुप्रचारहरूलाई चिर्न त्यसमा साथीहरू लागिराख्नु भएको छ। र, खासगरी सामाजिक सञ्जालको अल्गोरिदमले मानिसमा नेगेटिभ धारणाको विकास गराई रहेको देखिन्छ। अब त्यसलाई चिर्नका लागि साथीहरू अलि बढी लागिराख्नु भएको छ। यी गलत हल्लाका पछाडि लाग्नुहुन्न र यदि यो गलत हल्लाका पछाडि लागेर परिणाम उल्टियो भने, सिङ्गो यो क्षेत्रको विकास र समृद्धिसँग मात्र नभएर देश विकासमै यसले पनि ठूलो असर पार्छ भन्ने प्रष्टसँग अहिले जनताले बुझ्दै जानुभएको छ। आमरूपमा नेपाली जनता, त्यसमा पनि झापाका जनता, क्षेत्र नम्बर ५ का जनता यी गलत र कुप्रचारहरूको विरुद्धमा उभिनेछन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतका साथ विजय हुनुहुनेछ।
एमालेको ठूलो संगठन छ भन्नुुहन्छ। बलियो जनाधारको दावि गर्नु हुन्छ। अहिले पार्टी कमिटीलाई कसरी परिचालन गरिराखेको छ ?
पार्टी कमिटीका अहिले सबै स्तरका क्षेत्र, क्षेत्रदेखि नगर, नगरपालिका स्तरका कमिटीहरू अहिले पूर्णरूपमा सञ्चालनमा छन्। कमिटीहरु बैठक बसेर योजना बनाएर काममा लाग्नुभएको छ भने जनवर्गीय संगठनहरू अनेमसंघ, युवा संघ, अनेरास्ववियु लगायत अन्य विभिन्न संगठनहरू पनि सक्रिय ढङ्गले काममा लाग्नुभएको छ। आ-आफ्नो संगठनमार्फत् तलैसम्म अहिले साथीहरू काममा जोडिराख्नु भएको छ।
उम्मेद्वारी दर्ताको पनि एक महिना समय वित्यो। यो बीचमा पार्टीको अवस्था तथा राजनीतिक माहोलमा केही परिवर्तन पाउनु भएको छ ?
नोमिनेसनको अवस्था एउटा खालको थियो। त्यसबेला के थियो भने, नेकपा एमाले भनेको कानुन र नियम, जुन प्रतिबद्धताहरू हामीले व्यक्त गरेका छौँ। त्यसलाई ठीक ढङ्गले परिचालन गरौँ भन्ने हिसाबले हामी तयारीमा रह्हौ। खासगरी निर्वाचन आयोगले आचारसंहिता एउटा तय गरेको थियो। विभिन्न दलहरूसँग सामूहिक रूपमा एउटा निर्वाचनको सन्दर्भमा आचारसंहिता थियो। २५ जनाभन्दा बढी नजाने, १० भन्दा बढी झन्डा प्रयोग नगर्नेे भनेर दलहरूको बीचमा सहमति भएअनुसार हामीले सोही अनुसारको सामान्य तयारी गर्यौं। तर आचारसंहितालाई, कानुनलाई उल्लङ्घन गर्दै हिँड्ने अर्को जमातले के गर्यो भने ठूलो संख्यामा त्यो क्षेत्रमा मात्रै नभएर अरू विभिन्न ठाउँबाट शक्ति केन्द्रित गर्ने काम गरेर सामूहिक रूपमा उनीहरू ठूलो दलबलका साथ आए । जो आचारसंहिता विपरीत थियो । त्यो काम कानुन विपरीत थियो र त्यसबेला आचारसंहिता अन्तर्गत जुन तोकिएको ठाउँ, हामीलाई जुन ठाउँ दिएको थियो। जुन समय दिएको थियो, त्यो ठाउँमा भईरहेका हाम्रा गतिविधिमा उनीहरू हस्तक्षेप गर्न आए। जसका कारणले अलिकति प्रतिवाद गर्नुपर्ने परिस्थिति पनि निर्माण भयो। अहिले ति कुराहरु, त्यो परिस्थिति पूर्णरूपमा कार्यकर्ताले, जनताले पनि बुझ्नुभएको छ। अहिले त्यस्तो अवस्था छैन। अहिले परिस्थिति उल्टिसकेको छ। अब त्यो खालका गतिविधि गर्न आए भने जनता स्वयंले पनि प्रतिकार गर्ने अवस्था देखिसकेको छ।
तर त्यसको प्रतिवाद त एमालेले पनि गरिराखेको होला नि, कसरी गरिराखेको छ ?
अहिले जनताले आफैँ जे ढङ्गले बोलिराख्नुभएको छ, जे गतिविधि गरिराख्नुभएको छ। त्यसलाई सार्वजनिक गर्ने काम हामीले गरेका छौँ। अन्य मिडियामार्फत् पनि त्यो गतिविधिलाई सार्वजनिक गर्ने काम गरेका छौँ, सामाजिक सञ्जालमार्फत पनि गरेका छौँ। अझै मिडियाहरूले पनि यसलाई ठीक ढङ्गले प्रसारण गरिदिए राम्रो हुन्थ्ये भन्ने हाम्रो पनि चाहना छ। अझै त्यो अगाडिको परिस्थितिलाई मात्रै आँकलन गरिएको देखिन्छ। पछिल्लो परिवर्तित परिस्थितिको आँकलन गरेको चाहिँ देखिँदैन। त्यसो भएर, म हार्दिकतापूर्वक अनुरोध गर्न के चाहन्छु भने, मिडियाहरूले पनि यो पछिल्लो परिस्थितिलाई बुझेर त्यही अनुसार प्रचार गरिदिए हुन्थ्यो भन्ने मलाई लाग्छ।
झापा-५ लाई चुनावी इपि सेन्टर पनि भनिन्छ। यहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय सबै मिडियाहरूको चाहिँ आँखा पनि छ। पछिल्लो चरण जुन नयाँ ढङ्गले परिस्थितिको विकास भएको छ। यसलाई कसरी लिनुहुन्छ ?
यो चुनावको इपि सेन्टरको रूपमा खासगरी मिडियाहरूले प्रचार गर्नुभयो। वास्तवमा यो इपि सेन्टर त्यस्तो होइन। चुनाव सवै निर्वाचन क्षेत्रमा उही ढङ्गले हुने हो र उस्तै जनताको प्रतिनिधित्व गर्दै हरेक हरेक निर्वाचन क्षेत्रमा उम्मेद्वारहरू विजयी हुने हो। त्यसभित्रको फरक पाटो चाहिँ यहाँ हाम्रो पार्टीका अध्यक्ष उम्मेदवार हुनुहुन्छ र अरू प्रतिस्पर्धीहरू चाहिँ त्यो उचाइमा रहनुभको छैन। एकजना जो काठमाडौँको मेयर हुनुहुन्थ्यो, उहाँ यहाँ आउनुभयो। उहाँलाई त सजिलो छ, केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर चुनाव हारे पनि केही फरक परेन। आफूलाई हाइलाइट गरिदिन्छ भन्ने हिसाबले उहाँ आउनुभएको हो। त्यसै कारणले मान्छेले काठमाडौँदेखि यहाँ आउनु भएको ठानेर अलिक चर्चा भाको स्थिति हो। जो मान्छे जहाँको जनतासँग जोडिएको हुन्छ, जनताले जहाँ अपनत्व महसुस गरेको हुन्छ, त्यहीँ चुनाव लड्ने हो। हाम्रो पार्टीमा पनि हरेक ठाउँमा टिकट दिँदाखेरि के हुन्छ भने त्यो ठाउँको मान्छे हो कि होइन ? त्यो ठाउँका जनतासँग कति घुलमिल गरेको छ र जनताका खास समस्या पर्दाखेरि त्यसले कसरी प्रतिधित्व गर्छ भन्नेसम्म हेरिन्छ। तर यो ठिक उल्टो भाछ। न यहाँको जनतासँग उहाँको साइनो सम्बन्ध छ। सायद उहाँ पहिलो पटक नै उम्मेदवारको बन्नको लागि मात्रै यो ठाउँमा आउनुभएको छ। यहाँको जनताले आफ्नो नेताको रूपमा अपनत्व महसुस गरेको अवस्था पनि होइन, चिनेको अवस्था पनि होइन। अहिले पनि उहाँका चुनाव प्रचारको शैली देखिन्छ कि, जनताका प्रश्नहरूको सामना गर्ने होइन, प्रश्नबाट भाग्ने र अँध्यारो कोठामा बसेर सामाजिक सञ्जाल प्रयोग गर्दै जनतालाई दिगभ्रमित गर्ने काम गरिएको छ। जनताका प्रश्नबाट भाग्नेहरु कसरी जनताबाट अनुमोदन हुन सक्छन् ? त्यही कारणले बढी चर्चा भएको हो। तर यो क्षेत्र इपि सेन्टर होइन, हाम्रो पार्टीका अध्यक्ष विरूद्ध प्रयोग गरिएको विभिन्न यो आक्षेप कुरा हो। जनताको बीचमा त्यस्तो खालको परिस्थिति छैन। जनताले चाहिँ आफ्नो अभिभावकको रूपमा लामो समयदेखि स्वीकारेको र माया गरेको नेताको रूपमा केपी ओली हुनुहुन्छ। उहाँलाई नै जिताएर पठाउँछन्। त्यो पनि भारी मतान्तरका साथ जिताउने कुरा चाहिँ निश्चित नै छ।

२०४८ साल देखि यो २०८२ सालसम्मको यो झापाको पश्चिम क्षेत्रको भौतिक प्रगतिलाई कसरी हेर्नु भएको छ ?
२०४८ साल देखि नै यहाँको जनप्रतिनीधिको रुपमा केपी शर्मा ओली निर्वाचित भएर जान थाल्नु भएको हो । त्यो भन्दा अगाडी यहाँको पूर्वाधार विकासलाई हेर्ने हो भने अत्यन्तै सामान्य थियो। जब जब उहाँले निर्वाचित भएर केन्द्रमा गएर यहाँका विकास निर्माणदेखि लिएर जनताका आवाजहरूलाई सम्बोधन गर्ने काम गर्नुभो, त्यस देखिनै यहाँको विकासको अवस्था धेरै अगाडि बढेको छ। बाटोघाटोदेखि लिएर दमकलाई अन्य क्षेत्रसँग एउटा व्यवसायिक क्षेत्रको रूपमा विकास गर्नको लागि उत्तरबाट आउने रवि चिसापानी सडकलाई जोड्ने काम भको छ। यस्तै रतुवा र मावा यहाँ दुईटा चाहिँ ठूला खोलाहरू छन्। यि खोलाले यहाँका बासिन्दालाई अत्यन्तै दुःख दिने गरेका थिए। तर अहिले खोलाहरुको दर्विलो तटबन्धन भएको छ। मोरङ तथा ईलामलाई जोड्ने विभिन्न ठाउँमा पक्की मोटरेवल पुल निर्माण भएका छन्। यसको उत्तरी क्षेत्रबाट मदन भण्डारी मार्ग पनि अगाडि बढेको छ। दमकबाट ईलाम-पाँचथर हुँदै तिव्वती नाका समेत जोड्ने गरि दमक रवि चिसापानी सडक विस्तार भई रहेको छ। यहाँको बजारमा सौन्दर्यकरण गर्ने काम भएको छ। जसले गर्दा दमकको समृद्धि र विकासमा सयौं पूर्वाधारहरू थपिएका छन्।
दमक गौरीगञ्ज सडकलाई चार लेनमा बिस्तार गर्ने काम भइरहेको छ। गौरादह बजारको विस्तारका लागि पनि पूर्वाधारका कामहरू अगाडि बढेका छन् । गौरीगन्जको भन्सार स्तरीकरण गर्ने काम पनि अगाडि बढिरहेको छ। जसले गर्दा यहाँको विकास र यहाँका व्यवसायहरूलाई विस्तार गर्नको लागि अत्यन्त सहज भएको अवस्था छ। त्यस्तै गरेर यहाँका जनतालाई भोलिका दिनमा रोजगारका अन्य अवसरहरू पनि सिर्जना गरौँ भन्ने हिसाबले औद्योगिक पार्कको काम पनि अगाडि बढिरहेको छ। त्यस्तै अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनेदेखि लिएर आदिवासी रंगशाला निर्माणका कामहरूलाई पनि प्राथमिकताका साथ अध्यक्ष ओलीले अगाडि बढाउनुभएको छ। यी योजनाहरुका कारण यहाँका जनतालाई धेरै ठूलो अवसरको रूपमा प्राप्त हुँदैछन्। त्यस्तै गरेर व्यवसायिक कम्प्लेक्स रूपमा निर्माण सम्पन्न भइसकेको छ। सञ्चालनको अन्तिम चरणमा पुगे पछि नवयुवाहरूको आन्दोलनको नाममा त्यसलाई ध्वस्त गर्ने काम गरेको छ।
तल्लो तहका नागरिकहरुसँग एमालेको सम्पर्क टुट्यो भन्ने आरोप पनि छ नि ?
त्यो वास्तविकता होइन। एमाले सर्वहारा वर्गकै नेतृत्व गर्ने पार्टी हो। यसका नीति, विचारहरू त्यही वर्गसँग जोडिएका छन्। सुकुम्बासीहरूको समस्या समाधान गर्न एमाले जतिखेर सरकारमा पुग्छ त्यस बेला आयोग बनाएर काम गर्ने गरिएको छ। तर जव एमाले सरकारबाट बाहिरिन्छ त्यस लगत्तै आयोग विघटन गर्ने, धनीपुर्जा वितरण रोक्ने जस्ता काम गरिन्छ। पछिल्लो पटक पनि भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न आयोग बनाईएको थियो। विभिन्न जिल्लामा आयोगले काम गरि रहेको थियो। धनीपुर्जाहरु वितरण भई रहेका थिए। तर एमाले नेतृत्वको सरकार ढाल्ने वित्तिकै जेन्जी आन्दोलनको आडमा बनेको भनिएको सरकारले काम चाँहि त्यहि सर्वहाराको समस्या समाधान गरि रहेको आयोग विघटनबाट थाल्यो। पछि अदालतले त आयोग व्युँत्यायो । तर सरकारको असहयोगका कारण काम हुन सकि रहेको छैन।

त्यस्तै मजदूरका, किसानका समस्याहरू समाधान गर्ने र उहाँहरूको जीवनस्तर उकास्ने काम पनि नेकपा एमालेले गरेको छ। फुुसका छाना हटाउने कार्यक्रम, विपन्नलाई घर निर्माण गर्नेदेखि लिएर अनेकन रोजगार व्यवस्थापन गर्नेसम्मका कामहरू एमाले सरकारमा भएकै बेला भएका छन्। त्यसो भएको हुनाले सर्वहारा वर्ग वा तल्लो तहका नागरिकसँगको समन्वन्ध टाढियो भन्ने कुरा सत्य होइन।
एमाले अध्यक्ष ओलीले पटक-पटक सरकारको नेतृत्व गर्नुभयो। तर पनि नागरिकका कयौं गुनासा र प्रश्नहरु रहेछन् नि। यस पटकको मतदातासँगको भेटमा पनि यस्ता धेरै प्रश्नहरु, गुनासाहरु आए। तिनलाई कसरी लिनु भएको छ ?
नागरिकका गुनासाहरू केही देखिए । केहि ठिकै हुन् र केहि चाँहि प्रश्नका लागि प्रश्नको रुपमा मात्र पनि देखिए। यहाँ जुन ढङ्गले विकास निर्माणका कामहरू भएका छन्, सहरी विकास भएको छ, व्यवसायिक गतिशिलता बढेका छन् र जनताहरू विभिन्न अवसरहरू प्राप्त गरेका छन्। यो त सवैका सामु छर्लङ्ग छ नि। हुन त अझै पनि गर्नु पर्ने धेरै कामहरु पनि छन् । फेरि मतदाताले गर्ने र गरीरहेकै व्यक्तिलाई हो माग राख्ने, सुनाउने पनि। त्यसले गर्दा पनि केहि प्रश्नहरु आएका हुन सक्छन्। फेरि अध्यक्ष ओलीले एउटा क्षेत्रको सांसदको रुपमा मात्र काम गरेर पनि भएन। उहाँले राष्ट्रिय आवश्यकताहरुको सम्बोधन, अन्तर्राष्ट्रिय सम्वन्ध लगायतका क्षेत्रमा पनि काम गर्नु पर्ने भएकाले निर्वाचन क्षेत्रका केहि गुनासा आएका हुन पनि सक्छन्। ती कुराहरुलाई हामीले गम्भिरतापूर्वक लिएका छौं। तर बिरोधीहरुले भएको नदेख्ने, नदेखे जस्तो गर्ने र आलोचना मात्र गर्ने हो भने त, के भन्नु र । तर खास कुरा के हो भने यो क्षेत्रको र समग्र राष्ट्रकै पनि जे जति रुपान्तरणकारी कामहरु भएका छन्, ति केपी शर्मा ओली र नेकपा एमालेकै नेतृत्वमा भएका छन् भनेर मतदाताले बुझ्नु भएको छ। थप आशा र अपेक्षा राख्ने कुरालाई त अन्यथा मान्न मिल्दैन।
एमाले यो कुरामा प्रष्ट छ कि, न जनताका प्रश्नबाट भाग्न र न समस्याहरुबाट भाग्छ । जनताका प्रश्न र गुनासाहरुको संवोधन दिँदै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रि सवालहरुमा सहि ढंगले काम गर्न सक्ने पार्टी त नेकपा एमालेनै हो भनेर प्रमाणितनै भई सकेको छ नि ।
तपाईले समग्र विकासको नेतृत्व नेकपा एमालेले गरेको छ भनि रहँदा केही काम भएन वा विकल्प खोज्ने भन्ने खालका कुरा पनि सुनिन्छ नि ?
यो एउटा अचम्मकै कुरा छ। नयाँ चाहियो भनेर भन्ने, तर के चाहियो भन्ने कुरा चैँ अहिलेसम्म सुन्न पाको छैन। सामाजिक सञ्जालले मानिसको मस्तिस्कमा अनेक कुरा हालि दिएको छ। तर धरातलमा हेर्नु हुन्छ भने त्यस्तो देखिदैन। तर यो चाहियो, यसो गरौँ भन्ने अभिव्यक्ति साथ कुरा आयो भने त छलफल पनि गर्न सकिन्छ नि तर त्यस्तो खालको चै अहिले हामी गाउँघरमा पुग्दा अहिले सम्म सुनिएको छैन।
अघिल्लो पटक तीन वटा पालिकाका करिव ९० टोलमा अध्यक्ष पुग्नुभयो। अबको भेटघाटको मोडल चाहिँ कस्तो हुन्छ ?
अध्यक्षज्यूको अब यहाँ दमक भित्र रहेका दश वटै वडा वडामा भेटघाट र छलफल हिजो देखि सुरु भइसकेको छ। त्यहाँ पनि जनताका विषयवस्तुहरू, गुनासाहरू, सुझावहरू ती सबै संकलन गर्नुहुनेछ। अर्को एकपल्ट पनि अन्य फरक ढङ्गले चाहिँ विभिन्न समूह, जस्तै शिक्षक, विद्यार्थी, त्यस्तै गरेर व्यवसायी, उद्योगीहरूका पनि समस्याहरू सुन्नेछौँ र उहाँले ती सबै कुराको सम्बोधन गरे पछि थप कार्यक्रमहरु अघि सार्नेछौं।
विदेशमा छोराछोरी भएका अभिभावकहरु एमालेप्रति नकारात्मक धारणा बनाएका छन् भनिन्छ। तपाईंहरुले यो कुरा महसुस गर्नुभएको छ ?
विदेशमा भएका नानीबाबुहरूलाई म के विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु भने, यहाँको समस्याको समाधान गर्ने यहीँकोले हो । यहाँ स्थानीय सरकार छ, प्रदेश सरकार छ, केन्द्रीय सरकार छ, त्यहाँ निर्वाचित भएका जनप्रतिनिधिहरुले काम गरिराख्नु भएको छ। हरेक कुराको समाधान खोज्दा आफ्नो अवस्था अनुसार खोज्ने हो। हाम्रो देशको अर्थतन्त्र र हामीले गरिराखेका कामहरू सँग जोडेर नै त्यसको समाधान खोज्ने हो। विदेशमा बसेर विदेशी संरचना हेरेर यहाँ यस्तो हुनु पथ्र्यो र उस्तो हुनु पथ्र्यो भनेर देश बन्ने होइन। त्यहाँ पनि लामो दुःख कष्टबाट त्यो अवस्थामा पुगेको हो र यहाँ पनि हामीले त्यही ढङ्गले विकास गरि रहेका छौं। अध्ययन् वा रोजगारीका लागि विभिन्न देशमा पुगे पछि हाम्रोमा यस्तो किन भएन भन्ने प्रश्न आउनु स्वभाविक पनि हो। तर हाम्रो अवस्था कस्तो थियो, विभिन्न कालखण्डमा हाम्रा विकासका कामहरु कसरी अवरुद्ध भए, पछिल्लो दशकमा कसरी अघि बढि रहेको छ भने पनि हेर्नु पर्ने हुन्छ। जब एमाले नेतृत्वको सरकार बन्यो, केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो। त्यस पछि त हो देशमा दिर्घकालिन महत्वका योजनाहरुले गति पाएको छ । यो कुरा हामीले बुझ्नु पर्छ र बुझाउन पनि जरुरी छ।
तपाईं पार्टीको सम्पर्क समन्वयमा लामो समय काम गर्नुभयो। झापा-५ मा चाहिँ सम्पर्क समन्वय कमिटी कसरी संचालित हुन्छ ?
यो चाहिँ के छ भने सम्पर्क समन्वय, खासगरी राजधानीमा गएर अस्थायी रूपमा पेसा र व्यवसाय गरेर बसोबास गर्नेहरूको बीचमा काम गर्ने संगठन हो त्यो। यो खास अवसर हो, जनताले आफ्नो अभिमत दिने बेला हो र सही ढङ्गले अभिमत दिएन भने आगामी दिनमा गलत मान्छेले नेतृत्व गर्यो भने मुलुक झन् बर्बादीतिर जान सक्छ। त्यसैले, यहाँ फर्किनुहोस्, आएर जनताका विचमा पुग्नु होस् भनिरहेका छौं। आह्वान गरेका छौं। राजधानीमा अस्थाई रुपमा रहनु भएका सवै साथीहरु आएर अब फिल्डबाटै काम गर्नु हुने छ।
जेनजी आन्दोलनकै कारण नयाँ निर्वाचन भएको बंगादेशको परिणाममा जेनजी आन्दोलनकारीहरूले सर्मनाम पराजय भोगे। नेपालमा यसको असर कस्तो पर्ला ?
महत्वपूर्ण विषय तपाईंले उठाउनु भयो। यो पपुलिजम भन्छ नि, यससँग जोडिएको पोलिटक्स खासगरी नवयुवाहरूले जेनजी भनेर जुन अहिले हामीले भन्ने गरेका छौँ। उहाँहरूले असन्तुष्टि व्यक्त गर्नुभएको छ, जुन जुन देशमा, त्यसले त्यहाँको सरकार पनि परिवर्तन भएको छ। कति ठाउँमा सत्ता पनि परिवर्तन भएको छ। तर, परिणाम के देखिन्छ भन्दा कहीँ पनि त्यो स्थायित्व हुने स्थिति पनि बनेन। बंगलादेशको परिणामले के देखायो भने नवयुवाहरूले गरेको आन्दोलनबाट जनताले विश्वास गरेनन्। उहाँका प्रतिनिधिहरू, लाखौँ फलोवर्स भएका, अत्यन्त सामाजिक सञ्जालमा पपुलर उम्मेदवारहरूलाई पनि भोट दिएनन। जनताले पुरानै पार्टी जहाँ विश्वास छ, जहाँ उहाँहरूले गतिविधि गर्नुभएको छ, जनताका विकास निर्माण सहयोग गर्नुभएको छ, ती नै पार्टीहरूलाई जिताउने काम गर्नुभएको छ। अन्य ठाउँमा पनि, अन्य पेसासँग जोडिएर राजनीति नबुझेका आलाकाँचाहरूलाई जहाँ जहाँ नेतृत्वमा पुर्याउनु भयो, त्यो मुलुकहरू अहिले पनि तपाईंहरूले हेर्नुभयो त्यहाँ राम्रो अवस्था देखिँदैन। जस्तै भेनेज्युला हेरौँ, युक्रेन हेरौँ, होइन ? त्यहाँ सत्ता परिवर्तन भएको छ। त्यहाँ हस्तक्षेपकारी ढङ्गले भएको छ, त्यहाँका जनतालाई दिगभ्रमित गर्ने काम भएर त्यहाँको माहौल बिगारिएको छ। परिणाम त अरू देशले हस्तक्षेप गरेको छ भने कति ठाउँमा त्यहीँ जनताबाट त्यसलाई बिगार्ने काम गर्यो र जसको परिणाम सही ढङ्गले आएन। युक्रेन जुन ढङ्गले आएको छ, त्यहाँ पनि त्यही पपुलिजमकै आधारमा त्यहाँ राष्ट्रपति चुनिनुभयो। जनताले चुन्न त चुने, तर उहाँको राजनीतिप्रतिको अपरिपक्वताको कारणले आज त्यो देशले कत्रो ठुलो विध्वंश भोग्नुपर्यो। त्यस्तै गरेर, बंगलादेशमा उहाँहरूले त्यो परिस्थिति बुझ्नुभयो, यो अवस्था आउनै दिनु भएन ।

पपुलिजम पोल्टिक्सले सही काम गर्न सक्ने रहेनछ भन्ने कुरा बुझेर पुरानै राजनीतिक पार्टीहरूलाई पनि त्यहाँ उहाँहरूले भोट दिनुभयो। अन्य ठाउँमा पनि यो गतिविधिलाई हेर्यो भने, हाम्रै देशमा पनि हेर्यो भने पनि त्यो देखिन्छ। जेनजी आन्दोलन भयो, सरकार परिवर्तन भयो। तर त्यसको नेतृत्व गर्ने मान्छे को गयो भन्दा फेरि पुरानै मान्छेहरू ! जहाँ कानुनले चिन्दैन, जहाँ हाम्रो संविधानले चिन्दैन, त्यस्ता मान्छेहरूलाई जबरजस्ती सरकारमा पठाउने काम गरियो र संसद समेत गैरकानूनी ढङ्गले विघटन गर्ने काम गरियो। त्यहाँ आन्दोलनको नेतृत्व गर्ने युवाहरु त जानु भएन। त्यसको प्रभाव, मेरो विचारमा, नानीबाबुहरूले, जो जेनजी समूह भन्ने हुनुहुन्छ, उहाँहरूले यो बुझी सक्नुभएको छ, बुझ्नु पनि पर्छ र उहाँहरूले यो गलत प्रचारका पछाडि नलाग्न र सही ढङ्गले आफ्ना अभिभावकदेखि आम जनताहरूलाई सही ढङ्गले निर्णय लिनका लागि आह्वान पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ ।






प्रतिक्रिया