अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-५ मा २९ वटै वडामा एमालेको प्रचार प्रसार सुरु

झापा-५ मा २९ वटै वडामा एमालेको प्रचार प्रसार सुरु


झापा-झापा जिल्लाको निर्वाचन क्षेत्र-५ मा नेकपा एमालेले चुनावी प्रचारलाई तिव्र बनाएको छ। पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्रको रुपमा रहेको यहाँ प्रत्येक वडाका निर्वाचन परिचालन एवम् प्रचार समितिहरु क्रियाशिल भएका छन्। पार्टी अध्यक्ष ओलीको बाक्लो उपस्थिति र सक्रियताका कारण समेत यहाँको चुनावी गतिविधि थप सक्रिय र प्रभावकारी बनेको छ।

यहाँ चुनावी प्रचार–प्रसारलाई तिव्र बनाउँदै एमालेले क्षेत्र नं. ५ का सबै २९ वडामा प्रचार संयन्त्र परिचालन गरेको जनाएको हो । निर्वाचन परिचालन समिति संयोजक तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार प्रत्येक वडामा प्रचार–प्रसार समिति सक्रिय रूपमा क्रियाशिल भएको छ । घरदैलो अभियान, टोल भेला तथा विभिन्न समुहसँगको छलफल समेत सघन रुपमा हुँदै आएका छन् । यस निर्वाचन क्षेत्रमा दमक नगरपालिकाका सवै १० वडा सहित कमल गाउँपालिकाका सबै ७ वडा पर्दछन् । यस्तै गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका केही वडाहरू पनि यही निर्वाचन क्षेत्रमा पर्दछन् ।


चुनावी प्रचार समिति संयोजक तथा पार्टी केन्द्रीय सदस्य ईन्द्र भण्डारीका अनुसार यस क्षेत्रमा जनपरिचालन सशक्त रूपमा भइरहेको छ । एमालेको सांगठनिक संरचना, कार्यकर्ता परिचालन क्षमता र ओलीको व्यक्तिगत राजनीतिक प्रभावका कारण जनसहभागिता उल्लेख्य देखिएको उहाँको भनाइ छ ।
झापा निर्वाचन क्षेत्र नं. ५ मा एमालेले संगठन, नेतृत्व र मुद्दालाई एकैसाथ अघि सार्दै चुनावी अभियानलाई तीव्र बनाएको हो । यहाँ विभिन्न व्यक्ति र पक्षले सिर्जना गरेको भ्रमहरुलाई नागरिक स्तरबाटै चिर्ने काम समेत भई रहेको छ । स्वत स्फूर्त रुपमा नागरिकहरुले एमालेका विरुद्धमा सिर्जना गरिएका भ्रमहरु चिर्दै आएका छन् ।
नेकपा एमालेले राष्ट्र तथा राष्ट्रियताका पक्षमा लिएको अडान, दिर्घकालिन विकासका लागि शुरु गरिएका दुरगामी महत्वका योजना, स्थानीय स्तरमा भएको तिव्र विकास लगायतका कारण यहाँका मतदाताहरु एमालेको पक्षमा सशक्त देखिएका छन् । पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीको अगुवाईमा यहाँ भएका पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएको पहुँच अभिवृद्धी लगायतका कारण समेत यहाँका मतदाताहरु एमालेको पक्षमा देखिएका छन् ।
एमाले प्रदेश सदस्य अमर शिवाकोटीका अनुसार दक्षिण झापाका पनि सबै वडामा प्रचारप्रसारको काम सुरु गरिएको छ । कतै चोक बजारमा झण्डा गाडेर पार्टीको उपस्थिति देखाइएको छ भने कतै चोक बजारमा नाचगान सहित घरदैलो सुरु गरिएको छ ।
यस क्षेत्रमा महिला, बुद्धिजिवी, युवा, विद्यार्थी लगायतका अलग अलग समुह र प्रचार समितिहरु समेत सक्रिय रुपमा परिचालन भएका छन् ।