पोखरा-कास्कीमा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ। निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरू निर्धारण गरिएको हो।
प्रदेश निर्वाचन कार्यालय कास्कीका अनुसार, जिल्ला कारागार र जिल्ला समन्वय समिति कास्कीमा अस्थायी मतदान केन्द्र तोकिएको हो। कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिएको हो भने जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो।
कास्की जिल्लामा २ हजार ९ सय जना अस्थायी मतदाता रहेको तथ्याङ्क छ। अस्थायी मतदाता नामावली स्वीकृत भइसकेको ढकालले जानकारी दिनुभयो। ‘जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको उपस्थिति शतप्रतिशत हुने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘तर जिसस कार्यालयमा रहने केन्द्रमा भने थोरै मात्र उपस्थिति हुने अनुमान छ।
किनभने निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले आफू खटिएकै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ।’ निर्वाचनमा खटिने कर्मचारीले सम्बन्धित मतदान केन्द्रमै भोट हाल्ने सुविधा दिइएको छ।
अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउनेछन् । उनीहरूलाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा हुने छैन।






प्रतिक्रिया