अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ


काठमाडौँ-गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ। बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो।

नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गर्न लागिएको संस्थानका प्रवक्ता जनक पोखरेलले राससलाई जानकारी दिनुभयो। पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उहाँले बताउनुभयो। महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ।

संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरिने कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताउनुभयो। महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने चलन छ। आज नागा बाबासहितका साधुसन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिने पनि संस्थानले जनाएको छ।