झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई निर्देशन दिनुभएको छ।
फागुन २१ मा घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले पार्टीका मूलभूत एजेन्डा लिएर जनताको घर घरमा पुग्न सबै उम्मेदवार र नेतालाई निर्देशन दिनु भएको हो ।
काठमाडौं फर्किने क्रममा झापाको बिर्तामोडस्थित होटल हेभनमा बोलाएर एमाले अध्यक्ष ओलीले जनस्तरमा रहेका भ्रम चिर्ने गरी जनताका घरमा पुग्न उम्मेदवार र अगुवा नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ । उम्मेदवार र अगुवा नेता कार्यकर्ताको छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीले परिणाम निकाल्ने गरी लाग्न अध्यक्ष ओलीले निर्देशन दिएको बताउनुभयो ।
‘सबै नेता कार्यकर्ता परिणाम निकाल्ने गरी निर्वाचनमा खटिनुपर्छ’, अध्यक्ष ओलीको भनाइ उल्लेख गर्दै संयोजक ताम्लीले भन्नुभयो, ‘जनस्तरमा रहेका भ्रम चिर्न जनताका घर-घरमा पुग्न पनि उहाँको विशेष निर्देशन छ ।’
छलफलमा झापाका सबै क्षेत्रका उम्मेदवारको सहभागिता रहेको थियो । यसबाहेक निर्वाचन परिचालन कमिटीका संयोजकहरू पनि अध्यक्ष ओलीसँगको छलफलमा सहभागी थिए । उनीहरूले निर्वाचन परिचालनका विषयमा भइरहेको प्रगतिका विषयमा अध्यक्ष ओलीलाई रिपोर्टिङ गरेका छन् ।
अध्यक्ष ओलीसँगको छलफलमा उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिए जस्तो अरु कुनै पार्टीको पक्षमा जनमत नरहेको प्रतिक्रिया दिएका छन् । चुनावी प्रचार अभियानका सिलसिलामा भएका नियमित भेटघाट र बैठकहरूमा समेत मतदाताले एमालेको पक्षमा खुलेर समर्थन गरेको र त्यसबाट सकारात्मक परिणाम प्राप्त हुने उम्मेदवारहरूको विश्वास छ ।






प्रतिक्रिया