भक्तपुर-फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि भक्तपुर क्षेत्र-२ मा चुनावी समीकरण फेरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट उम्मेदवारी दिनुभएका लोककृष्ण दाहाल बुधबार नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्दै एमाले उम्मेदवार महेश बस्नेत लाई समर्थन गर्ने घोषणा गर्नुभएको छ।
एमालेको घरदैलो अभियानका क्रममा सूर्यविनायक नगरपालिका–२, बालकोट चोकस्थित चुनाव प्रचार–प्रसार कार्यालयमा आयोजित कार्यक्रममा एमाले उम्मेदवार तथा पार्टी केन्द्रीय सचिव बस्नेतले दाहाललाई टीका, खादा र माला लगाई पार्टीमा स्वागत गर्नुभयाे।
दाहालले फागुन २१ गतेको निर्वाचनमा आफ्नो उम्मेदवारी परित्याग गर्दै बस्नेतलाई अत्याधिक मतले विजयी गराउन अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “देश विकास गर्ने र राष्ट्रियताको पक्षमा दृढ रूपमा उभिने पार्टी एमाले मात्रै हो,” उहाँले भन्नुभयो, “देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितका लागि एमालेसँग एकताबद्ध भएको हुँ।”
उहाँले बस्नेतको नेतृत्व क्षमता, विकासप्रतिको प्रतिबद्धता र देशप्रेमी अडानलाई समर्थनको प्रमुख आधार भएको उल्लेख गर्नुभयो। भक्तपुरको समग्र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको भन्दै बस्नेतलाई जिताउन आफूले उम्मेदवारी त्यागेको बताउनुभयो।
एमाले सचिव बस्नेतले नेकपा संयुक्तका उम्मेदवार नै एमाले प्रवेश गरी समर्थन जनाउनु सकारात्मक संकेत भएको प्रतिक्रिया दिनुभयो। उहाँले यस घटनाले चुनावी अभियानमा थप ऊर्जा र उत्साह थपिएको दाबी गर्नुभयो।
एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले देशभर एमालेप्रति जनलहर बढिरहेका बेला उम्मेदवारकै प्रवेशले पार्टीको पक्षमा थप बल पुगेको बताउनुभयो। उहाँले एमाले राष्ट्रियता, विकास र सुशासनको पक्षमा दृढ रहेको जिकिर गर्नुभयो।
बालकोट क्षेत्रमा आयोजित घरदैलो अभियानमा एमाले नेतृ रामकुमारी झाक्री लगायत स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। अभियानका क्रममा मतदाताहरूले बालकोटको खानेपानी समस्या समाधान गर्न आग्रह गरेका थिए।
उम्मेदवार बस्नेतले आफू सांसद नरहेका बेला रोकिएका विकास योजनाहरू पुनः अघि बढाउने अभियानसहित मैदानमा आएको बताउँदै बालकोटको खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी आफूले लिएको स्पष्ट पार्नुभयो।
भक्तपुर क्षेत्र नं. २ मा दाहालको एमाले प्रवेशसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने आकलन गरिएको छ।






प्रतिक्रिया