काठमाडौं-नेकपा एमालेका सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले चुनावी घरदैलो अभियान उत्साहपूर्ण रुपमा अघि बढिरहेको बताउनुभएकाे छ।
बुधबार सूर्यविनायक नगरपालिका–३ स्थित बालकोटमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उहाँले तीन दिनदेखि अभियान निरन्तर जारी रहेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभयाे।
उहाँले भन्नुभयाे, ‘हामीले सुरु गरेको घरदैलो अभियान उत्साहपूर्ण देखिएको छ । हामी जुन वडामा पुग्छौँ, त्यहीँका स्थानीय कार्यकर्तालाई परिचालन गरेका छौँ । अन्य दलजस्तो बाहिरबाट कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने शैली हाम्रो छैन।’
सचिव बस्नेतले विगतमा बालकोट क्षेत्र एमालेका लागि कमजोर मानिने गरेको उल्लेख गर्दै पछिल्लो समय विकास निर्माणका कामले पार्टीको प्रभाव बढेको दाबी गर्नुभयाे। ‘पहिले कमजोर ठानिएको क्षेत्रमा अहिले राम्रो उपस्थिति देखिएको छ। यसले निर्वाचनमा सकारात्मक परिणाम आउने संकेत दिएको छ,’ उहाँले भन्नुभयाे।
मतदानको आँकडा प्रस्तुत गर्दै उहाँले क्षेत्र नम्बर २ मा ९८ हजारभन्दा बढी मतदाता रहेको बताउनुभयाे । ‘करिब ७० प्रतिशत मतदान हुने अनुमान छ। त्यसमा हामीले ४१ देखि ५० प्रतिशत मत प्राप्त गर्ने लक्ष्य लिएका छौँ । कम्तीमा ३० हजार मत आउने हाम्रो अपेक्षा छ,’ बस्नेतले बताउनुभयाे।
घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता, युवा तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो । एमालेले निर्वाचन नजिकिँदै जाँदा मतदाता भेटघाट, विकासका योजना सार्वजनिक गर्ने र प्रचार अभियानलाई अझ तिव्र बनाउने जनाएको छ ।






प्रतिक्रिया