झापा-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गर्नुभएकाे छ। झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताउनुभयाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्वासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको उल्लेख गर्नुभयाे। अध्यक्ष ओलीले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारी नीतिकै कारण देशमा भोकमरीको अन्त्य भएको दाबी गर्नुभयाे। गरिबी अझै पनि चुनौतीको रूपमा रहेको स्वीकार गर्दै उहाँले विभिन्न उपाय र कार्यक्रमहरूमार्फत यसलाई जरैदेखि उखेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे।
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा सुरु गरिएका स्वास्थ्य बीमा जस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरूको महत्वमाथि प्रकाश पार्नुभयाे । ३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार पाउने व्यवस्था जनताकै करबाट सम्भव भएको बताउँदै उहाँले सरकारले जनताबाटै स्रोत संकलन गरेर जनताकै हितमा खर्च गर्ने स्पष्ट पार्नुभयाे।
अध्यक्ष ओलीले विकासको अनुभुति गर्ने र गराउने काममा एमाले नेतृत्वको सरकार सफल भएको जिकिर समेत गर्नुभयाे ।
आसन्न निर्वाचनप्रति लक्षित गर्दै उनले मजदुरका समस्या समाधानका लागि निर्वाचन पछि थप ठोस कदम चालिने बताउनुभयाे । सिटी रिक्सा चालकहरूका समस्या आफूसम्म आइपुगेको र त्यसलाई लिपिवद्ध गरेर दिन आग्रह गर्दै अध्यक्ष ओलीले निर्वाचनको नतिजा लगत्तै ती समस्याहरूको समाधान खोजिने बताउनुभयाे।






प्रतिक्रिया