काठमाडौं-निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गर्नुभएकाे छ। बागमती प्रदेश उपसभापति हुमागाईँले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा घोषणा गर्नुभएकाे हाे।
उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उहाँको आरोप छ।
हुमागाईँ ७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए। हुमागाईँले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाउनु भएकाे छ ।
रास्वपाका नेताहरूको पार्टी छाड्ने लर्को नै लागेको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पार्टीकी मधेसकी संस्थापक सभापति ममता शर्माले हिजाे पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ। उहाँले पार्टीले अपनाएको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको कारणले देखाउँदै राजीनामा दिनुभएको हो।
‘सङ्गठनमा दिनरात खटिएका क्षमतावान् मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्त व्यवहारमा लागू नहुँदा र आर्थिक अनियमितताबाट निर्णय प्रभावित हुने अवस्था देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच आएको छ,’ उहाँले राजिनामा-पत्रमा लेख्नुभएको छ।
यसैबिच पार्टी नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ। उहाँ २०७९ सालको प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो। उहाँले पनि पार्टीमा स्थापनाकालीन मूल्य र विधान विपरीत गतिविधि बढेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
ममता शर्मा र उर्मिला भुर्तेलको राजीनामासँगै पार्टीभित्र वर्तमान नेतृत्वको पद्धति, निर्णय प्रक्रिया र आर्थिक व्यवस्थापनबारे आलोचना सार्वजनिक भएको छ। पार्टी छाड्ने नेताहरूले आफूहरू युवा नेतृत्व र योग्य व्यक्तिको संलग्नताका पक्षधर भएर आबद्ध भए पनि आर्थिक र नीतिगत असमानताका कारण मौन रहन नसकेको स्पष्ट पार्नु भएको छ ।
चुनावको मुखमा यी नेताहरूको राजीनामा र पार्टी छोड्ने प्रवृत्तिले रास्वपामा आन्तरिक अस्थिरता बढाएको विश्लेषकहरूले बताएका छन्। आगामी निर्वाचनअघि पार्टीका रणनीति, मतदाता विश्वास र क्षेत्रीय संगठनात्मक कामकाजमा यसको प्रभाव पर्ने देखिएको छ ।






प्रतिक्रिया