काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, वर्तमान व्यवस्था र राष्ट्रिय सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमणका रूपमा चित्रण गर्नुभएकाे छ।
आज आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै ओलीले मुलुक अहिले विवेक र आवेगको दोबाटोमा उभिएको बताउनुभएकाे हाे।
अध्यक्ष ओलीले देश बनाउने र भत्काउने दुई फरक सोचबीचको द्वन्द्वले गर्दा नेपाललाई फेरि प्रयोगशाला बनाउन खोजिएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयाे। अध्यक्ष ओलीले भदौ २३ को आन्दोलनमा बाह्य घुसपैठ भएको दाबी गर्दै शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलेर हिंसा भड्काइएको आरोप लगाउनुभयाे।
‘गत भदौ २३ र २४ को राजनीतिक हुण्डरी र विध्वंश पछि फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलियो। लामो संघर्षको उपलब्धि संविधान र समग्र व्यवस्थामाथि धावा बोलियो। स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरियो’, अध्यक्ष ओलीले भन्नुभयाे, ‘आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी छ। भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ।’
संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकको सहारा लिएर प्रणालीमाथि नै प्रहार गर्ने उद्देश्यले ती घटनाहरू गराइएको उहाँको ठहर छ। अध्यक्ष ओलीले प्रश्न गर्दै भन्नुभयाे, ‘भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो ? घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ? यी घटना स्वतःस्फूर्त थिए कि योजनाबद्ध ?’






प्रतिक्रिया