अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-१ का एमाले उम्मेदवार दुर्गाकुमार थापाको ‘५ वर्षमा ५० काम’ प्रतिवद्धता

उदयपुर-१ का एमाले उम्मेदवार दुर्गाकुमार थापाको ‘५ वर्षमा ५० काम’ प्रतिवद्धता


उदयपुर-नेकपा (एमाले) उदयपुर क्षेत्र–१ निर्वाचन परिचालन समितिले “देखाउँछौं हामी परिणाम, पाँच वर्षमा ५० काम” भन्ने नारासहित समृद्ध उदयपुर निर्माणको लक्ष्य राख्दै विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

बिहीबार जिल्ला सदरमुकाम गाईघाटस्थित पिपल चोकमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रत्यक्षतर्फका उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती)ले उक्त प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले पार्टी प्रश्नबाट नभाग्ने भएकाले जनतामा झैँ खुला स्थानमा प्रतिबद्धता सार्वजनिक गरिएको बताउनुभयो। उहाँले जनताको विश्वास जित्ने आधार स्पष्ट भएकाले यसपटक उदयपुरका दुवै निर्वाचन क्षेत्रमा एमाले विजयी हुने दाबी गर्नुभयो ।

संविधान रक्षा र जनमैत्री शासन
प्रतिबद्धता पत्रमा नेपालको संविधानको रक्षा, समयानुकूल कानून संशोधन तथा जनमैत्री कानून निर्माणलाई प्राथमिकता दिइएको छ। स्थानीय तहबाट माग भएका योजनालाई प्राथमिकताका आधारमा अघि बढाइने र विकासबाट प्रभावित नागरिकका लागि विशेष पुनःस्थापना कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

अधुरा योजना सम्पन्न र सामाजिक सुरक्षा विस्तार
एमालेले सडक, पुल, भवन तथा खानेपानी जस्ता अधुरा आयोजनाहरू समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ। साथै, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्दै जिल्लामा शतप्रतिशत स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने योजना अघि सारिएको छ ।

त्रियुगा करिडोर र कृषि आत्मनिर्भरता
त्रियुगा नदीमा स्थायी तटबन्द निर्माण गरी “हरित त्रियुगा करिडोर” विकास गर्ने, खहरे खोलामा तटबन्द निर्माण गरी खेतीयोग्य जमिन संरक्षण गर्ने तथा कृषि आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखिएको छ। चन्द्र नहरलाई आधुनिक प्रविधिमार्फत सञ्चालन गर्ने र किसानका लागि परिचयपत्र तथा पेन्सन व्यवस्था सुनिश्चित गर्न संसदमा आवाज उठाइने उल्लेख गरिएको छ।

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा रूपान्तरण
प्रतिबद्धतामा उदयपुर सिमेन्ट उद्योग को पुनर्संरचना, मेडिकल कलेज स्थापना, जिल्ला अस्पताललाई प्रादेशिक स्तरको रिफरल सेन्टरमा रूपान्तरण गर्ने योजना समावेश छ। साथै, विद्यालयहरूमा ई–ल्याब, टेलि–एजुकेशन, शिक्षक सेवा–सर्त सुनिश्चितता र शिक्षा ऐन कार्यान्वयनमा पहल गरिने जनाइएको छ ।

पर्यटन, उद्योग र रोजगारी
सन् २०३० सम्म जिल्लाका सम्भावित पर्यटकीय क्षेत्रलाई पूर्वाधारयुक्त पर्यटन केन्द्रका रूपमा विकास गर्ने, “एक पालिका एक औद्योगिक ग्राम” तथा “एक पालिका एक कृषि बजार” स्थापना गर्ने लक्ष्य राखिएको छ। स्थानीय स्रोतमा आधारित कुटीर उद्योग, प्राङ्गारिक मल तथा साइलेज उद्योग प्रवद्र्धनका साथै गाँजा खेती र स्थानीय मदिरालाई व्यवसायिक बनाउने कानुनी व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ ।

युवा, खेलकुद र स्मार्ट सिटी
प्रत्येक पालिकामा रंगशाला निर्माण, पारा खेलकुद प्रवद्र्धन तथा साइक्लिङ्ग, प्याराग्लाइडिङ्ग र र्याफ्टिङ्ग जस्ता साहसिक खेलको विकास गरिने उल्लेख छ। साथै, पालिका केन्द्रहरूमा “स्मार्ट सिटी” कार्यक्रम लागू गर्ने योजना पनि अघि सारिएको छ ।

समावेशी विकास र वातावरण संरक्षण
भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण, सुरक्षित आवास प्रवद्र्धन तथा थारु, जनजाति र दलित समुदायको संरक्षण क्षेत्र घोषणा गरिने प्रतिबद्धता गरिएको छ। भाषा–संस्कृति संरक्षण, महिला प्रजनन स्वास्थ्य सुधार तथा जलवायु परिवर्तनसम्बन्धी प्रभावकारी कानून निर्माणमा जोड दिइएको छ।

उम्मेदवार थापाले प्रतिबद्धता पत्र सार्वजनिकसँगै छिट्टै जिल्लाका १० गौरवका योजना पनि सार्वजनिक गर्ने जानकारी दिनुभयो।
कार्यक्रमकै अवसरमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) उदयपुरका जिल्ला संयोजक यादब पोखरेल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको थियो।

एमाले उदयपुर–१ ले समग्र विकास, सुशासन र रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै पाँच वर्षमा ५० काम सम्पन्न गर्ने दाबी गरेको छ। पार्टीले “समृद्ध उदयपुर निर्माणका लागि सूर्य चिन्हमा मतदान” गर्न मतदातासमक्ष अपिल समेत गरेको छ।