अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदातालाई एमाले उपाध्यक्ष पौडेलको हस्तलिखित पत्रः विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

मतदातालाई एमाले उपाध्यक्ष पौडेलको हस्तलिखित पत्रः विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता


बुटवल- प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र-२ का उम्मेदवार विष्णुप्रसाद पौडेल ले मतदातालाई हस्तलिखित पत्रबाटै सम्बोधन गर्दै विकास–समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता जनाउनुभएको छ। 

निर्वाचन क्षेत्रका मतदातालाई उपाध्यक्ष पौडेलले आफ्नो तर्फबाट लिखित पत्र नै दिएर प्रचार अभियान थालेको एमाले नेता युवराज घिमिरेले जानकारी दिनुभयाे । घरदैलो अभियानकै क्रममा मतदाताको नाम लेखेर उहाँले लिखित अपिलमार्फत विगतका उपलब्धि, वर्तमान जिम्मेवारी र आगामी योजनाबारे विस्तृत धारणा सार्वजनिक गरेर पारदर्शीता देखाउन खोज्नभयाे ।

निर्वाचन परिचालन कमिटीले यसको समन्वय गरेर सम्बन्धित व्यक्तिको नामै लेखेर पुराउने अभियान थालेको घिमिरेले जानकारी दिए । पत्रमा उपाध्यक्ष पौडेलले सम्पूर्ण मतदाता तथा परिवारजनप्रति सम्मान व्यक्त गर्दै स्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको कामना गर्नुभएकाे छ। उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासको दिशानिर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्नुभएकाे छ।

उम्मेदवार पौडेलले विगतमा मतदाताबाट प्राप्त विश्वासका आधारमा आफू निर्वाचित भई अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणलाई गति दिने तथा महामारी र आर्थिक चुनौतीबीच पनि स्थायित्व कायम राख्ने प्रयास गरेको दाबी गर्नुभएकाे छ। विशेषगरी भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दीपछिको आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ महामारीका बेला अर्थतन्त्र जोगाउने कार्यमा आफ्नो भूमिका रहेको उहाँले स्मरण गराउनुभयाे ।

रूपन्देहीलाई केवल भौगोलिक क्षेत्र नभई सम्भावनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ठूला पूर्वाधार आयोजना अघि बढाइएको पत्रमा उल्लेख छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया व्यापारिक करिडोर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थल लगायत आयोजना क्षेत्रको पहिचान बनेको उहाँको भनाइ छ। त्यस्तै, लुम्बिनी गुरुयोजना, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, प्रादेशिक अस्पताल, कृषि थोक बजार, सिद्धार्थ राजमार्ग स्तरोन्नति, बुटवल–नारायणगढ सडक विस्तार, पुल तथा करिडोर निर्माणजस्ता आयोजनाले समग्र क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्‍याएको उहाँले उल्लेख गर्नुभएकाे छ।

उहाँले अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पत्रमा उहाँले सुरु भइसकेका तर अपूरा रहेका आयोजना छिटो सम्पन्न गर्ने, नयाँ योजनाको थालनी गर्ने, औद्योगिक विकास विस्तार गर्ने तथा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाउनु भएको छ। शिक्षा, स्वास्थ्य, उत्पादन र आयआर्जनका क्षेत्रमा रूपन्देहीलाई अग्रणी केन्द्र बनाउने योजना पनि अघि सार्नुभएको छ।

त्यसैगरी पौडेलले विकासलाई सामाजिक न्यायसँग जोड्दै समान अवसर, समावेशी सहभागिता र आत्मसम्मानसहितको समाज निर्माणमा जोड दिने उल्लेख गरेका छन् । सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो कार्यशैलीको मूल आधार बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

उहाँले मतदातासँग पुनः समर्थनको अपिल आफूले अघि बढाएको विकास र समृद्धिको अभियानलाई निष्कर्षमा पुर्‍याउन पुनः जनसमर्थन आवश्यक रहेको भन्दै सूर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभयो। राष्ट्र निर्माण, आर्थिक रूपान्तरण र क्षेत्रीय समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ ।

नेकपा एमालेले पनि रूपन्देही–२ मा विकास निरन्तरताका आधारमा चुनावी अभियान तीव्र बनाएको जनाएको छ।

समग्रमा पौडेलको प्रतिबद्धता पत्र विगतका उपलब्धि संस्थागत गर्ने, अधुरा आयोजना पूरा गर्ने र रूपन्देहीलाई राष्ट्रिय आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन विकास दृष्टिसहित केन्द्रित देखिएको पत्र पाएको मतदाता काव्या थापा बताउनुभयाे । अब मतदाताले उहाँको कार्यसम्पादन मूल्यांकन गर्दै पुनः जिम्मेवारी सुम्पिन यो पत्रले थप प्रष्ट भएको उहाँको भनाइ छ । ‘सामाजिक सन्जालमा केही भ्रम आइरहेका थिए, यसमा उहाँले उल्लेख गरेका योजनाको विषयले कतै सोच्न नपर्ने बनायो’ उहाँले भन्नुभयाे ।

रुपन्देही २ मा पौडेलले ०६४ सालदेखि लगातार जित्दै आउनु भएकाे छ।