काठमाडौँ-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि २०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताउनुभएको छ।
पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आज भएको खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताउनुभयो। तर समयानुकूल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नुपर्ने उहाँको भनाइ छ।
‘विसं २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले चलाएको सरकारकैबेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो’, उहाँले भन्नुभयो, ‘कांग्रेसले त्यसैका कारण लामो समयसम्म कम्युनिष्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनुपर्याे। हामी निरन्तर लखेटियौँ। हाम्रा सार्वजनिक नीतिहरूका बारेमा नागरिकलाई बुझाउन सकेनौँ त्यो हाम्रो कमजोरी रह्यो। तर आज पनि नेपालमा जे-जति कुरा आएका छन् त्यसको कथा खोज्दै गयो भने २०५९ साल सुरु गरेकै योजनाको जगमा आएका छन्।’
पार्टी स्थापनाकालमा नेताहरूले ३० वर्षपछिसम्मको सपना देखेको विषयलाई उहाँलले स्मरण गर्नुभयो। ‘जननायक बिपी कोइरालाले त्यसबेला प्रत्येक नेपाली म जस्तै मध्यमवर्गीयस्तरको हुनुपर्छ भनेर सपना देख्नुभयो’, सभापति थापाले भन्नुभयो, ‘आज हामी हिजो गरेका उपलब्धिप्रति गौरब गर्छौं। हाम्रा ऐतिहासिक मूल्यमान्यतालाई अझै उज्याले बनाउछौँ।’
विसं २०३३ को अप्ठ्यारा दिनमा सात वटा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू नेपाल आएको उहाँको भनाइ छ। सभापति थापाले भन्नुभयो, ‘हाम्रा आफ्ना सङ्घर्षका दिनहरू सम्झन्छौँ। तीस वर्षको पञ्चायती कालरात्रिमा एकपटक पनि हाम्रो नेतृत्वले सत्तातिर हेरेर फर्केन ती दिनहरू सम्झदै हामी अघि बढ्ने छौँ।’
मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको उहाँको दाबी छ ।






प्रतिक्रिया