झापा-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आइपुग्नुभएको छ। अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा आउनुभएको हो।
अध्यक्ष ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने हुनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउसो ३ बजे अन्तरक्रिया हुन लागेको हो।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनामा हुने कार्यक्रममा दुईवटा प्यानल डिस्कसन समेत राखिएको छ। हिसानका अध्यक्ष युवराज शर्माका अनुसार “नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली”विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ । अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको शर्माले जानकारी दिनुभयो । निजी क्षेत्र,नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा,उर्जा,उद्योग व्यावसाय,स्वास्थ्य,सुचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतिका विषयमा छलफल गरिनेछ।
प्यानल छलफलमा हिसानका पूर्व अध्यक्ष रमेश कुमार सिलवाल,इपानका अध्यक्ष गणेश कार्की,प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी,मेडिकल एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की,आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं ससहभागी हुनुहुनेछ ।
प्यानलमा सहभागी वक्ताहरुले आफ्ना क्षेत्रका तत्कालिन र दीर्घकालिन समस्या र समाधानका उपाय,नीतिगत अवरोधहरु र नयाँ सरकारसँगका अपेक्षा राख्नेछन् । यसैगरी जेन जेड र निजी क्षेत्रको सम्बन्धका बारेमा पनि छलफल हुने शर्माले बताउनुभयो । उहाँका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा,नीतिगत अवरोध र देशले अंगालेको नीजी क्षेत्र सम्बन्धी नीतिका बारेमा अध्यक्ष ओलीले आफ्ना भनाइहरु राख्नुहुने छ। कार्यक्रम दिउसो ३ बजे दमक चौक स्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना गरिएको छ।






प्रतिक्रिया