अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा चुनाव भाँड्न‌‌‍‌ खोज्दै छ: एमाले

रास्वपा चुनाव भाँड्न‌‌‍‌ खोज्दै छ: एमाले


काठमाडौं-नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शनिबार पत्रकार सम्मेलन गर्दै जारी प्रेस विज्ञप्तिमार्फत एमालेले मुलुकमा चुनाव नजिकिँदै गर्दा असुरक्षा र त्रासको वातावरण सिर्जना गरिएको दाबी गरेको हो।

एमालेले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सरकार असफल भएको आरोप लगाएको छ । विभिन्न स्थानमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउने तथा पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने गतिविधि तीव्र बनेको उल्लेख गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका अनुसार निर्वाचन घोषणा भएयता हजारौं कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेकाले अपराधिक गतिविधि बढ्न सक्ने भन्दै यसअघि नै सरकारको ध्यानाकर्षण गराइएको थियो । पछिल्लो समय विभिन्न स्थानमा अमुक दलको नारासहित एमाले नेतृत्वविरुद्ध अभद्र व्यवहार तथा झण्डा जलाउने घटना भएको दाबी गर्दै पार्टीले यसलाई चुनावी द्वन्द्व निम्त्याउने षड्यन्त्रको संज्ञा दिएको छ।

एमालेले आगामी निर्वाचनलाई ‘देश बनाउने र जलाउने’ बीचको जनमत सङ्ग्रहका रूपमा लिएको जनाएको छ । कथित ‘नयाँ’ को नाममा भोट प्रभावित गर्ने प्रयास असफल भएपछि फेक सर्वेक्षण सार्वजनिक गर्ने, समुदायबीच द्वन्द्व सिर्जना गर्ने तथा हिंसा भड्काउने गतिविधि बढेको आरोप पनि विज्ञप्तिमा उल्लेख छ ।

रौतहटको गौरमा जारी अनिश्चितकालीन कफ्र्यूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पार्टीले यसले मतदाताको निर्भीक मतदान अधिकार प्रभावित हुने जनाएको छ । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लामा दलका झण्डा र चुनाव चिन्ह जलाउने तथा अशान्ति फैलाउने गतिविधि गरी चुनाव भाँड्न खोजेको दाबी गरेको छ । साथै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाप्रति निर्वाचन आयोग उदासीन देखिएको भन्दै आपत्ति जनाएको छ ।

होली पर्वको अवसरमा अमुक पार्टी र त्यसका नेताको तस्वीर तथा चिन्ह अंकित टी–सर्ट वितरण गरिएको घटनालाई एमालेले आचारसंहिता उल्लङ्घनको उदाहरणका रूपमा उल्लेख गरेको छ । एमालेले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग जोडदार माग गरेको छ ।