झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर संवैधानिक जटिलताका बेला सर्वोच्च अदालतले समयमै फैसला दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले समय घर्किसकेपछि अदालतबाट आउने न्यायको कुनै अर्थ नहुने बताउनुभयाे।
मुलुक गम्भीर संवैधानिक प्रश्नमा जेलिएको र जटिलतामा फसेको बेला सर्वोच्च अदालतबाट समयमै फैसला आउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयाे। ढिलो गरी दिइने न्यायलाई उनले म्याद गुज्रिएको औषधिसँग तुलना गर्नुभयाे। ‘म्याद गुज्रिएको औषधि जस्तो, म्याद गुजारेर दिने न्याय डेट एक्सपायर्ड मेडिसिन जस्तै हो,’ अध्यक्ष ओली भन्नुभयाे, ‘त्यो व्यवहारमा काम लाग्दैन र त्यसले कुनै परिणाम पनि दिँदैन।’
निर्वाचनको मिति तय भइसकेपछिको अवस्थामा अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ निर्वाचन पछि पर्ने गरी साधारण तारेख दिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसलाई व्यावहारिक रूपमा अर्थहीन र प्रयोजनहीन भएको बताउनुभयाे।
भोलिका दिनमा यसले एउटा नजिर बसाल्ने र सिद्धान्त प्रतिपादन गर्ने भए पनि तत्कालका लागि भने न्याय अर्थपूर्ण हुन नसकेको उहाँको भनाइ थियो।
मुलुक जुन असहज परिस्थितिमा पुगेको थियो, त्यसलाई सहजतामा फर्काउने दायित्व अदालतको भए पनि त्यसो हुन नसकेको उहाँले गुनासो गर्नुभयाे।






प्रतिक्रिया