दमक-राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी समेत रहनु भएकी शाक्यले लेख्नुभएका जीवनका अनुभवहरु समेटिएको संग्रहको नवसंस्करण एक कार्यक्रमका विच लोकार्पण गरिएको हो।
एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओली सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रुपमा कृति विमोचन गर्नुभयो। कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो ।
त्यस अवसरमा आईतबारनै एमाले अध्यक्ष ओली र शाक्य विचको बैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उहाँहरुलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरु समेत सुनाउनु भएको थियो ।

‘पहिलो पटक रातो साडीमा’
१४ वर्ष जेल जीवन विताएर कमजोर शरीर लिएर आएको व्यक्तिसँग आफुले कुनै अपेक्षा समेत नराखि विवाह गरेको उहाँले सु्नाउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओली सांसद हुनुहोला, मन्त्री हुनुहोला वा प्रधानमन्त्रीनै बन्नुहोला भन्ने केहि सोचेको थिईँन, केवल उहाँसँग भावनात्मक रुपमा एक भएकाले विवाह गरेको हुँ ।’ त्यस क्रममा उहाँले २०४४ साल फागुन १० गते विवाह पछि सयौं पटक झापा र दमक आए पनि यस वर्षको क्षण विशेष लागेको उल्लेख गर्नुभयो । ‘आजको दिनलाई खास उत्सवको रुपमा मनाउने हाम्रो चलन पनि थिएन, गत वर्ष देखि मात्र साथीहरुले शुरु गरि दिनुभएको हो’ उहाँले भन्नुभयो, ‘यस वर्ष त कस्तो संयोग पर्यो भने, झापामानै रहेका बेला वर्षगाँठ पर्यो । त्यसैले पहिलो पटक नयाँ रातो साडी लगाएर यहाँ उपस्थित भएको छु ।’
केपी ओलीले मन्त्री वा प्रधानमन्त्री बनेर अकुत सम्पत्ती कमायो भन्नेहरुले आरोप लगाए पछि आफुहरुसँग कुनै निजी सम्पत्ती नरहेको भन्दै उहाँले आफुहरुको वास्तविकता कस्तो छ नजिकहुनेहरुलाई मात्र थाह भएको समेत प्रष्ट पार्नु भयो ।






प्रतिक्रिया