अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलाली-४ मा तीव्र जनलहर: पुस्ता-पुस्ताको भरोसामा एमाले उपमहासचिव लेखराज भट्ट

कैलाली-४ मा तीव्र जनलहर: पुस्ता-पुस्ताको भरोसामा एमाले उपमहासचिव लेखराज भट्ट


कैलाली-फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ४ को चुनावी माहोल झन् तातेको छ। घरआँगनदेखि चोक-चौतारासम्म एउटै चर्चा सुनिन्छ- यो पटकको रोजाइ को ? धेरै मतदाताको उत्तर एउटै छ- ‘नेकपा एमालेका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्ट ।’

जेनजीको आशा: “अबको नेता तपाई नै”

नयाँ पुस्ता-जेनजी-राजनीतिमा स्पष्ट दृष्टि र परिणाममुखी नेतृत्व खोजिरहेको छ। उनीहरूका लागि विकासका ठोस आधार र राष्ट्रिय राजनीतिमा सुदूरपश्चिमको प्रभावशाली आवाज महत्त्वपूर्ण छ।

एक जेनजी मतदाता भन्छन्, ‘अबको सुदूरपश्चिमको नेता लेखराज भट्ट नै हो। फागुन २१ गते हुने निर्वाचनमा मेरो मत सूर्यमा हुन्छ।’

महिलाको विश्वास : उज्यालोको प्रतीक

महिला मतदातामा पनि एमाले उपमहासचिव भट्टप्रति भरोसा बलियो देखिन्छ। विकासका निरन्तर योजनाले जीवनस्तरमा परिवर्तन आउने अपेक्षा उनीहरूको छ।

एक महिला मतदाता भन्छिन्, ‘सूर्य नभए संसार अँध्यारो हुन्छ। लेखराज भट्टले अझै विकास अघि बढाउनुहुन्छ भन्ने हाम्रो विश्वास छ।’

युवाको मूल्याङ्कन : कामको आधारमा समर्थन

युवा वर्गले भट्टको विगतको कामलाई समर्थनको आधार बनाएको देखिन्छ। सडक निर्माण, कृषि पूर्वाधार, नहर र पोखरी निर्माणजस्ता कामले गाउँ–टोलमा प्रत्यक्ष प्रभाव पारेको उनीहरूको अनुभव छ।

एक युवा भन्छन्, ‘उहाँले सडक बनाउनु भयो, कृषिमा काम गर्नुभयो। अझै पनि विकासलाई गति दिन सक्ने नेता उहाँ नै हो।’

वृद्धको अपेक्षा : अनुभव र निरन्तरता

वृद्ध मतदाताले अनुभव र निरन्तरतालाई प्राथमिकता दिएका छन्।

एक वृद्ध मतदाता भन्छन्, ‘अरूभन्दा लेखराज भट्टले यस क्षेत्रमा धेरै काम गर्नुभएको छ। उहाँबाट अझै राम्रो कामको अपेक्षा छ।’

क्षेत्रीय मात्र होइन, सुदूरपश्चिमको नेतृत्व

समर्थकहरूको बुझाइमा भट्टको जित केवल एक निर्वाचन क्षेत्रको जित होइन; यो सुदूरपश्चिमको राष्ट्रिय प्रतिनिधित्वसँग जोडिएको विषय हो। विगतमा भट्टले अघि बढाएका परियोजनाहरू- सेती लोकमार्ग, महाकाली लोकमार्ग,सुदूरपश्चिम विश्वविद्यालय,बयलपाटा अस्पताल,गेटा मेडिकल कलेज,दैजी औद्योगिक क्षेत्र जस्ता योजनाहरूले सुदूरपश्चिममा दीर्घकालीन प्रभाव पार्ने विश्वास समर्थकहरू व्यक्त गर्छन्।

कैलाली–४ मा चुनावी प्रतिस्पर्धा तीव्र छ। तर जनलहरको दाबी गर्नेहरू भन्छन्— ‘यो पटकको मतदान केवल सांसद चयन होइन, सुदूरपश्चिमको नेतृत्व चयन पनि हो। जेनजीदेखि वृद्धसम्मको समर्थनले लेखराज भट्टलाई क्षेत्रीय राजनीतिबाट राष्ट्रिय विमर्शको केन्द्रमा उभ्याएको समर्थकहरूको भनाइ छ।

फागुन २१ को मतपरिणामले यो जनलहर कत्तिको मतमा रुपान्तरण हुन्छ— त्यो भने केही दिनमै स्पष्ट हुनेछ।

यसै सन्दर्भमा, कैलाली क्षेत्र नं. ४ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को चुनावी अभियान तीव्र बनेको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पार्टीका उपमहासचिव लेखराज भट्टलाई विजयी गराउने लक्ष्यसहित मतदाताका घरदैलो तथा टोल–टोल भेटघाट कार्यक्रम दैनिक रूपमा गरिरहेकाे छ। घरदैलो अभियानमा नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता देखिएको छ भने स्थानीय बासिन्दाको सक्रिय उपस्थिति पनि बढ्दो छ।

अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको घोषणापत्र, विगतमा सम्पन्न विकास निर्माणका कार्य तथा आगामी योजनाबारे जानकारी गराइँदै आएको छ। हिजोकाे दिनमा गरेका कामको तुलनात्मक समीक्षा गर्दै आगामी दिनमा यस क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजना रहेको बताउँदै मतदातालाई एमालेको पक्षमा उभिन आग्रह गरिरहेका छन्।

प्रत्येक वडामा जिम्मेवारी तोकिएका संयोजक तथा कमान्डरहरू परिचालित हुँदै चुनावी माहोल आफ्नो पक्षमा बनाउन सक्रिय देखिएका छन्।

स्थानीय तहदेखि क्षेत्रीय संरचनासम्मको समन्वयमा सञ्चालन भइरहेको यस अभियानले कैलाली क्षेत्र नं. ४ मा एमालेको संगठनात्मक पकड बलियो बन्दै गएको पार्टीका नेताहरूको दाबी छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम अझै सशक्त बनाइने जनाइएको छ।