काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङ दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरुप्रति श्रद्धान्जली अर्पण गर्दै उनीहरुका परिवारमा समवेदना व्यक्त गर्नुभएको छ। साथै, अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ।
पोखराबाट काठमाडौं आउदै गरेको बस गएराति धादिङको भैंसीगौंडास्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १८ जनाको मृत्यु भएको छ। ठुलो संख्यामा यात्रु घाइते भएका छन् ।
दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै अध्यक्ष ओलीले लेख्नु भएको छ, ‘पोखराबाट काठमाडौंतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैंसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराती दुर्घटनामा परेर १८ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ। दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेशना व्यक्त गर्दछु। घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना ।’
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो। तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ।






प्रतिक्रिया