अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब नेसनल युथ फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन: अध्यक्ष केपी ओली

अब नेसनल युथ फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन: अध्यक्ष केपी ओली


झापा-नेकपा एमालेका अध्यक्ष तथा झापा-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले एमालेको पहिलो प्राथमिकता देश भएको बताउनुभएको छ।

सोमबार झापामा आयोजित कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्नुभयो। ‘एमाले भन्छ- अरू सबै कुरा पछि, देश पहिले,’ उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउनुभयो। ‘राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो,’ उहाँले उल्लेख गर्नुभयो।

आन्दोलनको नाममा विगतमा देशमा अराजकता फैलिएको प्रसंग उल्लेख गर्दै उहाँले अब यस्तो अवस्था दोहोरिन नदिने दाबी गर्नुभयो। ‘अब नेसनल युथ फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित संरचना हो, जसले विशेष गरी प्रहरी प्रशासनलाई सहयोग गर्नेछ। प्रहरीमाथि आक्रमण हुन नदिने र शान्ति–सुरक्षा कायम राख्न सहकार्य गर्ने उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभयो। ‘कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ, यहाँ नेसनल भोलेण्टियर फोर्स छ,’ उहाँले भन्नुभयो, ‘यो जनताको शक्ति हो र अनुशासनमा बसेर काम गर्छ।’