झापा-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश विकास गर्ने जिम्मा आफ्नो भएको बताउँदै ढुक्क रहन आग्रह गर्नुभएको छ।
फागुन ११ गते सोमबार झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकास गर्ने जिम्मा आफ्नो भएको जिकिर गर्नुभएको हो।
झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका केपी ओलीले झापा, कोशी प्रदेश र समग्र देशको विकासप्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यस जिल्ला (झापा)को विकासको जिम्मा मेरो हो। यो कोशी प्रदेशको विकासको जिम्मा मेरो हो। तपाईंहरू ढुक्क हुनुहोस्। सिंगै देशको विकासको जिम्मा मेरो हो। तपाईंहरू ढुक्क हुनुहोस्।’
अध्यक्ष ओलीले देशका सबै सदरमुकाम सडक सञ्जालसँग जोडिएको दाबी गर्दै हुम्ला जिल्ला पनि आफ्नै पालामा जोडिएको बताउनुभयाे। ‘देशको सबै सदरमुकाममा मोटरबाटो जोडिएको छ। हुम्ला जिल्लाको सदरमुकाम जोड्न बाँकी थियो, अहिले हुम्लाको सदरमुकाम पनि जोडिएको छ,’ अध्यक्ष ओलीले बताउनु भयाे।
कोशी प्रदेशकाे पहाडी जिल्ला ताप्लेजुङकाे ओलाङचुङगोलासम्मै (चीन सीमा) जोड्ने सडक कालोपत्रे भइरहेको उहँले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘यस प्रदेशको ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्म सीमा जोड्ने सडक कालोपत्रे हुँदै छ। हामीले नै ट्र्याक खोलेका हौँ। हाम्रो काम विकास गर्ने हो, हरेक क्षेत्रमा।’
अध्यक्ष ओलीले कृषिमा आधुनिकीकरणको प्रक्रिया अघि बढाइएको, २०८५ सालसम्म धौवादी फलाम खानी सञ्चालनमा ल्याइने तथा मिथेन ग्यास उत्खननबाट ठूलो आम्दानी हुने दाबी पनि गर्नुभयाे। ‘२०८५ सम्म धौवादी फलाम खानी सुरु गर्दैछौँ। मिथेन ग्यास एक खर्ब १२ अर्ब उत्खनन गर्दैछौँ। ठूलो आम्दानी हुनेछ देशलाई,’ उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले अराजक गतिविधिबाट देशमा शान्ति स्थापना नहुने टिप्पणी गर्नुभयाे। देश बनाउने पार्टी एमालेले भएकाले अलमलमा पर्न नहुने अध्यक्ष ओलीको भनाइ थियो। विगतमा पनि आफूले सरकारको नेतृत्व गर्दा विकास निर्माणका काम गरेको अध्यक्ष ओलीले सुनाउनु भयो। ‘आगो लगाउन, लुटपाट गर्नु र विकास गर्नु फरक कुरा हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले देश बनाउने पार्टी हो, देश बनाउँछ।’
अध्यक्ष ओलीले मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै नेकपा एमाले विकास र स्थायित्वको पक्षमा रहेको दाबी गर्नुभयाे। ‘कोही पनि भ्रममा नपरौँ, नेकपा एमाले देश बनाउने पार्टी हो। एमाले बनेका भत्काउने होइन, एमालेले बनाउँछ,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘जनताको कमजोर भएको मनोबल सुदृढ बनाउँछ।’
अध्यक्ष ओलीले एमालेको पहिलो प्राथमिकता देश भएको बताउनुभययाे। एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउँदै ओलीले भन्नुभयाे, ‘एमाले भन्छ- अरू सबै कुरा पछि, देश पहिले।’






प्रतिक्रिया