अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी


पर्सा-पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ। दुई पक्षबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार  सोमबार अपराह्न साढे ४ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको हो।

परिस्थिति पूर्ण रूपमा सामान्य नभएकाले वर्तमान अवस्था समेतलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको छ। 

उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने छ । 

प्रशासनद्वारा जारी विज्ञप्तिअनुसार अबका केही घण्टा सुरक्षाको विशेष निगरानीमा रहनेछन्। ‘साँझ ४:३० बजेदेखि भोलि बिहान मिति २०८२/११/१२ गते बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्ने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ,’  पर्साको प्रमुख जिल्ला अधिकारी भोला दाहाल द्वारा जारी सूचनामा भनिएको छ।

स्थानीय प्रशासनले कर्फ्यू हटाए पनि वीरगञ्जका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो राखेको छ। सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि हुन सक्ने आशंकामा प्रहरीले गस्ती बढाएको छ। वीरगञ्जको माइस्थान, घण्टाघर र आदर्शनगर क्षेत्रमा स्थिति नियन्त्रणमा राख्न सुरक्षा सतर्कता अपनाइएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो।’