काठमाडौं-पूर्व सभामुखसमेत रहेका नेकपा एमाले नेता देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छना नलाउन चेतावनी दिनुभएको छ। उहाँले सभापति लामिछानेले आफूविरुद्ध घृणा फैलाउने नियतले भ्रमित पार्ने अभिव्यक्ति दिएको आरोप लगाउनुभयो।
झापाको बिर्तामोडमा आज आयोजित पार्टीको चुनावी कार्यक्रममा सभापति लामिछानेले निवर्तमान सभामुख घिमिरेलाई लक्षित गर्दै ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्दै टिप्पणी गर्नुभएको थियो। सोही टिप्पणीको सन्दर्भमा आज प्रेस विज्ञप्ति जारी गर्दै नेता घिमिरेले लोकतान्त्रिक अभ्यासमा चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत आरोप र घृणाले प्रभावित पार्न नसक्ने बताउनुभयो।
‘बिर्तामोडमा आज रवि लामिछानेजीले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर म विरुद्ध घृणा फैलाउने काम गर्नुभएछ,’ नेता घिमिरेले प्रेस नोट जारी गर्दै भन्नुभएको छ, ‘लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन्। घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म टिक्दैन।’
नेता घिमिरेले संसदीय अभ्यासमा प्रत्येक सदस्यलाई बोल्ने अधिकार भए पनि छलफललाई व्यवस्थित र क्रमिक रूपमा अगाडि बढाउन समय निर्धारण गरिने उल्लेख गर्नुभएको छ। ‘संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ। तर, संसदीय अभ्यासअनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ,’ उहाँले भन्नुभएको छ, ‘माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ।’
नेता घिमिरेले संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा बुझ्नुपर्ने पनि बताउनुभएको छ। उहाँले रवि लामिछानेलाई ‘निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?’ भन्दै प्रश्नसमेत गर्नुभएको छ। ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु। तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु- ‘आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन। आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु।’
तर उहाँले आफू आक्षेप र आफूमाथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा नरहेको पनि दाबी गर्नुभएको छ।
झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले आफूले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको नेता घिमिरेले स्मरण गराउनुभयो। झापा क्षेत्र नम्बर २ मा पूर्वभामुख घिमिरेको पूर्व उपसभामुख इन्दिरा रानासँग प्रतिस्पर्धा हुने अनुमान छ।






प्रतिक्रिया