काठमाडाैँ-नेकपा (एमाले)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ।
सर्वसाधारण जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको एमालेको आराेप छ। पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यसले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको बताउनुभयाे।
एमाले प्रचार विभाग प्रमुख शाहीले मधेस तराईका विभिन्न जिल्लामा लगाइएको कर्फ्युले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयाे। सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्यमान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ ।
एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै शाहीले ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको बताउनुभयाे।






प्रतिक्रिया