दाङ-नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले विकास र एमाले एकअर्काका पर्यायवाची भएको बताउनुभएकाे छ।
घोराही–१३, भ्यूडरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रको नेतृत्व गर्न सक्ने सक्षम र अनुभवी पार्टी एमाले मात्र भएको बताउनुभयाे ।
महासचिव पोखरेलले केन्द्रमा एमालेलाई जिताउन नसक्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि परेको उल्लेख गर्दै अबको निर्वाचनमा एमालेलाई सशक्त रूपमा जिताउनुपर्ने आवश्यकता औँल्याउनुभयाे। ‘केन्द्रमा एमालेको मजबुत उपस्थिति नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन’, महासचिव पोखरेल भन्नुभयाे, ‘जिताएमा एमालेले दाङको समृद्धिको नेतृत्व गर्छ।’
महासचिव पोखरेलले दाङको आर्थिक रूपान्तरणका लागि ३५० विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अगाडि बढाइने बताउनुभयाे। उद्योग, रोजगारी र उत्पादन वृद्धिमार्फत् दाङलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ थियो।

पर्यटन प्रवद्र्धनतर्फ ध्यान दिँदै उहाँले बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे । प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्भावनालाई उपयोग गर्दै दाङलाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनाउने महासचिव पोखरेलले बताउनुभयाे।
आफू मुख्यमन्त्री हुँदा आर्थिक पारदर्शिता, सुशासन र नतिजामुखी विकासलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गर्दै महासचिव पोखरेलले पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा थालिएका योजनाले त्यसको प्रमाण दिने उल्लेख गर्नुभयाे। ‘सुशासन र पारदर्शितासहित काम गर्दा परिणाम देखिन्छ’,महासचिव पोखरेलले भन्नुभयाे, ‘त्यसैले दाङको समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक छ।’
कार्यक्रममा महासचिव पोखरेलले कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर विकासको एजेन्डा घर-घरमा पुर्याउन आह्वान गर्नुभयाे। स्थानीयस्तरमा उल्लेख्य जनसहभागिता रहेको उक्त कार्यक्रममा विकास र स्थायित्वलाई मुख्य चुनावी मुद्दाका रूपमा प्रस्तुत गरिएको थियो ।
तुलसीपुर १७ मजगाउँमा आयोजित चुनावी सभामा बोल्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन सक्षम र प्रभावकारी नेतृत्व आवश्यक रहेको बताउनुभयाे। उहाँले अधुरा योजना पूरा गर्न र सुरु भइसकेका आयोजना सम्पन्न गर्न आफूलाई पुनः अवसर दिन मतदातासमक्ष आग्रह गर्नुभयाे।
सभामा बोल्दै महासचिव पोखरेलले भन्नुभयाे, ‘दाङको विकास र समृद्धिका लागि शंकर पोखरेल अपरिहार्य छ भन्ने अभियान घर-घरमा पुर्याइदिनुहोस्। अधुरा काम पूरा गर्न र सुरु भएका योजनालाई निष्कर्षमा पुर्याउन सक्षम नेतृत्व आवश्यक छ।’
आफू मुख्यमन्त्री हुँदा दाङमा पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम सुरु भएको उल्लेख गर्दै महासचिव पोखरेलले सरकार परिवर्तनसँगै केही आयोजना प्रभावित भएको दाबी गर्नुभयाे । ‘मैले नेतृत्व गर्दा दाङको विकासको आधार तयार भएको थियो। सरकारबाट बाहिरिएपछि केही काम रोकिए, अब ती योजनालाई पुनः गति दिन आवश्यक छ’, उहाँले भन्नुभयाे।
महासचिव पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक आफ्नै पहलमा सुरु भएको उल्लेख गर्दै विजौरी–दहवन हुँदै शहीद मार्ग विस्तार तथा मानपुर–जलकुण्डी सडक स्तरोन्नतिजस्ता आयोजना मध्य दाङको विकासका लागि अनिवार्य रहेको बताउनुभयाे ।
‘मध्य दाङको समग्र विकासका लागि सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य छ’, महासचिव पोखरेलले जोड दिनुभयाे।
स्वास्थ्य क्षेत्रतर्फ उल्लेखनीय प्रगति भएको दाबी गर्दै उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयाे।
दाङका अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा विकास गरिएको उल्लेख गर्दै उहाँले अब प्राविधिक शिक्षा र स्वास्थ्य सेवा जिल्लामै सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयाे । पोखरेलले काठमाडौँबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने प्रतिनिधि दाङले रोज्नुपर्ने आवश्यकता औँल्याउनुभयाे ।
‘काठमाडौँबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने नेतृत्व दाङले रोज्नुपर्छ । समृद्ध दाङ बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ’, उहाँले भन्नुभयाे।
सभामा उनले पार्टी कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर विकास, स्थिरता र समृद्धिको सन्देश घर–घरमा पु¥याउन आह्वान गरेका थिए । कार्यक्रममा स्थानीय नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। एमाले क्षेत्र नं. २ ले मंगलबारदेखि वडास्तरिय जनसभा गर्न सुरु गरेको छ।






प्रतिक्रिया