अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुठी पीडितको समस्या समाधानमा सधैं सकारात्मक छौं: महासचिव पोखरेल

गुठी पीडितको समस्या समाधानमा सधैं सकारात्मक छौं: महासचिव पोखरेल


दाङ-नेकपा (एमाले)का महासचिव एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले गुठी पीडित किसानहरूको समस्या समाधानका लागि आफू सधैँ सकारात्मक रहेको बताउनुभएकाे छ।

दाङको घोराहीमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको आयोजनामा मंगलबार सम्पन्न ‘प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँग स्वर्गद्वारी गुठीको जमिनमा मोही अधिकारका लागि संवाद तथा प्रतिबद्धता लेखन’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले गुठी समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयाे।

महासचिव पोखरेलले गुठी समस्या समाधानका लागि विधेयकसमेत तयार गरिएको जानकारी दिँदै सम्बन्धित मन्त्रालयको सक्रियता अभावका कारण समस्या समाधानमा ढिलाइ भएको बताउनुभयाे। महासचिव पोखरेलले भन्नुभयाे, ‘प्रधानन्यायाधीशको फैसलालाई कार्यान्वयन गर्न नसक्दा काम अघि बढ्न सकेन।’

महासचिव पोखरेलले नेकपा एमाले गुठी पीडित किसानको पक्षमा स्पष्ट रूपमा उभिएको दाबी गर्दै राज्यस्तरबाट समाधान खोज्नुपर्ने विषय भएकाले यसलाई राजनीतिक इच्छाशक्तिसँग जोडेर हेर्नुपर्ने बताउनुभयाे। कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा सरकार प्रभावकारी ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेका पक्षमा मतदान गर्न आग्रह गर्नुभयाे।

‘गुठीको समस्या राज्यको समस्या हो। सही प्रतिनिधि चयन भयो भने काम गर्न सकिन्’, उहाँले भन्नुभयाे, ‘समस्या बुझेको प्रतिनिधि जिम्मेवार स्थानमा पुग्यो भने समाधान सम्भव छ।’

कार्यक्रममा बोल्दै उहाँले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीलाई विशेष महत्व दिएको स्मरण गरे । प्रदेश सरकारले माघी पर्वमा सार्वजनिक बिदा दिने कार्यको सुरुवात आफ्नै पहलमा भएको उहाँको भनाइ थियो ।

पोखरेलले गुठी पीडित किसानको हक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै व्यवहारिक समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।