रामेछाप-प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट रामेछापमा उम्मेदवारी दिनुभएका माधव ढुङ्गेलले जिल्लाको समग्र विकासका लागि बहुआयामिक योजना सार्वजनिक गर्नुभएको छ। उहाँले सडक, कृषि, पर्यटनदेखि डिजिटल पूर्वाधारसम्म समेटिएको समग्र विकासको खाका अघि सार्दै ‘समृद्ध रामेछाप’ निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको हो।
सडकदेखि आकाशमार्गसम्म जोडिने पूर्वाधार
उम्मेदवार ढुङ्गेलले पालिका केन्द्रदेखि सबै वडासम्म कालोपत्रे सडक विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ। जिल्लाको रणनीतिक महत्त्व बोकेको मन्थली विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याई लुक्ला/सगरमाथाको प्रवेशद्वार (गेटवे)का रूपमा विकास गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ। यसले पर्यटन र स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने उहाँको विश्वास छ।
कृषि, जलविद्युत् र स्वरोजगारमा जोड
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै सुपरजोन कार्यक्रम लागू गर्ने र व्यावसायिक उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उहाँको योजना छ। “आफ्नै पानी, आफ्नै लगानी” अवधारणाअन्तर्गत जलविद्युत् विकासमा स्थानीय सहभागिता बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
युवालाई लक्षित गर्दै युवा स्वरोजगार कोष स्थापना, बिजनेस हब सञ्चालन तथा बिना धितो सहुलियतपूर्ण कर्जा नीति ल्याइने उहाँले उल्लेख गर्नुभएको छ। सीप विकासका लागि SYB/GYB मोडलमा आवासीय उच्चस्तरीय तालिम सञ्चालन गरिने योजना पनि समेटिएको छ।
शिक्षा, स्वास्थ्य र खेलकुदमा विशेष कार्यक्रम
उम्मेदवार ढुङ्गेलले “एक पालिका, एक छात्रवृत्ति” कार्यक्रमअन्तर्गत जेहेन्दार विद्यार्थीलाई मेडिकल अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभएको छ। “पढ्दै कमाउँदै” कार्यक्रममार्फत विद्यार्थीलाई अध्ययनसँगै आम्दानीको अवसर सिर्जना गरिने बताउनुभएको छ।
स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, सर्वसुलभ उपचार सेवा तथा खानेपानीतर्फ “एक घर, एक धारा” अभियान र लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरिने योजना सार्वजनिक गर्नुभएको छ।
खेलकुद विकासका लागि “एक पालिका, एक स्टेडियम” निर्माण तथा उच्च भू–भागमा हाई अल्टीच्युड खेल मैदान स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
सहरीकरण, खानी र पर्यटन प्रवर्द्धन
प्रत्येक स्थानीय तहमा एक ग्रामीण सहर विकास गर्ने अवधारणा अघि सार्दै व्यवस्थित सहरीकरणलाई प्राथमिकता दिने उहाँले बताउनुभएको छ। लामो समयदेखि चर्चामा रहेको ठोसे फलाम खानी पुनः सञ्चालन गरी स्थानीय रोजगारी सिर्जना गरिने योजना पनि उहाँको एजेन्डामा छ।
पर्यटन क्षेत्रलाई राजनीतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै रामेछापलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय नक्सामा स्थापित गर्ने उहाँको लक्ष्य छ।
डिजिटल पूर्वाधार र प्रविधिमा फड्को
“डिजिटल नेपाल” अभियानअन्तर्गत जिल्लाभर ४ जी सेवा विस्तार तथा एआई (AI) आधारित डाटा सेन्टर स्थापना गर्ने महत्त्वाकाङ्क्षी योजना पनि उम्मेदवार ढुङ्गेलले सार्वजनिक गर्नुभएको छ। प्रविधिमैत्री पूर्वाधारले शिक्षा, स्वास्थ्य, प्रशासन र व्यवसायमा गुणात्मक सुधार ल्याउने उहाँको दाबी छ।
समग्रमा, एमाले उम्मेदवार ढुङ्गेलले रामेछापलाई पूर्वाधार, उत्पादन, प्रविधि र मानव संसाधन विकासका आधारमा रूपान्तरण गर्ने स्पष्ट कार्यदिशासहित मतदातासामु प्रस्तुत हुनुभएको छ। उहाँका यी प्रतिबद्धताले निर्वाचन क्षेत्रमा विकासको बहसलाई थप केन्द्रमा ल्याएको छ।







प्रतिक्रिया