गौरीगञ्ज-झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँ नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएको जनाएका छन्। फागुन १३ गते बुधबार मतदातासँगको भेटका लागि गौरीगञ्ज-४ को बारसुदी टोल पुग्नुभएका पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीको हातबाट टिका लगाई एमालेमा प्रवेश गर्दै उनीहरुले अब यो गाउँ नै एमाले र ओलीलाई जिम्मा लगाएको बताएका हुन्। यस गाउँमा रहेका ४५० मतदातामध्ये ४० जना एमाले प्रवेस गरेका हुन्। बाँकी ५० यस अघि नै एमाले रहेका थिए।
एमालेमा प्रवेश गरेपछि स्थानीय अगुवा गयानन्द यादवले यहाँका काेही पनि मतदाताले अब सूर्य बाहेक अन्यत्र मतदान नगर्ने र सवै एमालेको विजयको पक्षमा लाग्ने भन्दै विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘अब यो गाउँ नै तपाईलाई उपहार दिएका छौं, यो ठाउँमा के के विकास गर्ने, कस्तो बनाउने, हामीलाई के के सुविधा दिने अब सवै तपाईंको जिम्माभयो।’

ठुला सहर दमक तथा विराटनगर भन्दा टाढा रहेको यस क्षेत्रमा निर्माण भएको पक्कि हुलाकी राजमार्ग, पाडाजुङ्गी–गौरीगञ्ज सडकको विस्तार र कालोपत्रे, अन्य भित्री सडकहरुको पनि स्तरीकरण, विद्युत सेवाको उपलव्धता लगायतका कारण धेरै सुविधा प्राप्त भएको स्थानीय मन्दुदेवी यादवको भनाई छ। कृषि उपजलाई बजार सम्म लैजान, स्वास्थ्य उपचारका लागि अस्पताल जान, बिहान सहरमा गएर रोजगारी गरि साँझ घरैमा आई पुग्न अचेल सजिलो भएको स्थानीयले बताउनुभयाे ।
आगामी प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका एमाले अध्यक्ष ओली केहि दिन यता आफ्नै गृहक्षेत्रमा व्यस्त रहनु भएको छ । ओली २०४८ सालको निर्वाचन देखिनै यहि निर्वाचन क्षेत्रबाट बिजयी हुँदै आउनु भएको छ।
झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाका सवै ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको ४ वटा वडा र दमक नगरपालिकाका सवै १० वटै वडा पर्दछन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली छैटौंपटक यस क्षेत्रबाट निर्वाचित हुँदा ५२ हजार ३ सय १९ मत प्राप्त गर्नु भएको थियो।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता रहेका थिए। यस पटक सो संख्या बढेर १ लाख ६३ हजार ३७९ पुगेको छ। अघिल्लो पटकको निर्वाचनभन्दा यसपटक ९ हजार ९० जना नयाँ मतदाता थपिएका हुन्।







प्रतिक्रिया