अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-२ मा अठार उम्मेदवार चुनावी मैदानमा

झापा-२ मा अठार उम्मेदवार चुनावी मैदानमा


झापा-झापाका अन्य निर्वाचन क्षेत्रझैँ निर्वाचन क्षेत्र-२ पनि चर्चामा छ। यहाँ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार पूर्वसभामुख देवराज घिमिरे र विभिन्न दलका पाँच प्रभावशाली महिला उम्मेदवार गरी १८ जना प्रतिस्पर्धामा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री सरिता प्रसाइँ, नेकपा (माओवादी केन्द्र) बाट पूर्वराज्यमन्त्री धर्मशीला चापागाईं चुनावी मैदानमा छन्। त्यसैगरी श्रम संस्कृति पार्टीबाट चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती पनि घरदैलो अभियानमा सक्रिय छन्।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन्। जसमा पुरुष मतदाताको सङ्ख्या ७३ हजार ९५० र महिला मतदाताको सङ्ख्या ७३ हजार ५६७ छ। ‘अन्य’मा पाँचजना मतदाता  छन्। निर्वाचनलाई व्यवस्थित बनाउन ४९ मतदानस्थल र १६५ वटा मतदान केन्द्र तोकिएका छन्।

भौगोलिक रूपमा अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका केही वडा र बुद्धशान्ति गाउँपालिकाका केही क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रको विगत पनि रोचक छ। विसं २०४८ देखि हालसम्म यसक्षेत्रमा नेकपा एमालेको बलियो पकड देखिन्छ । विसं २०४८ मा देवीप्रसाद ओझा, २ ०५६ मा केपी शर्मा ओली, २०७४ मा पवित्रा निरौला खरेल र २०७९ मा देवराज घिमिरे यहाँबाट निर्वाचित भइसक्नुभएको छ।

यसैगरी, विसं २०६४ मा माओवादीका गौरीशङ्कर खड्का र २०७० मा कांग्रेसका सुधीरकुमार शिवाकोटी पनि यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। यस पटकको निर्वाचनमा मतदाताको अपेक्षा केवल राजनीतिक परिवर्तनमा मात्र सीमित छैन। अर्जुनधारा र साविकको खुदुनाबारी गाविस क्षेत्रमा रहेको सुकुम्बासी समस्याको स्थायी समाधान र जग्गाधनी पुर्जा वितरण मतदाताको प्रमुख माग रहेको छ।

अर्जुनधारा–१० की गीता अधिकारी भन्नुहुन्छ, ‘हामीलाई पटक-पटक आश्वासन दिइयो, तर यसपटक ठोस् काम गर्ने प्रतिनिधिलाई मात्र भोट दिने सोचमा छौँ।’ उहाँका अनुसार अधिकांश मतदाता यसपटक उम्मेदवारको अघिल्लो कार्यकालको समीक्षा गरिरहेका छन्। पूर्वसभामुख घिमिरेको संसदीय अनुभव र एमालेको सङ्गठित मत एकातिर छ, भने अर्कोतिर कांग्रेसको विरासत जोगाउने प्रसाइँको कसरत र रास्वपाकी रानामगरको नयाँ लहरले प्रतिस्पर्धालाई रोचक बनाएको छ।

अघिल्लो निर्वाचनमा कम मतान्तरले परिणाम निस्किएका कारण यसपटक साना दल र नयाँ मतदाताको भूमिका निर्णायक हुने राजनीतिक विश्लेषक बताउँछन्। महिला उम्मेदवारको ठूलो सङ्ख्याले महिला मतदातामा उत्साह थपिएको छभने पुरानो राजनीतिक विरासत र नयाँ शक्तिबीचको यो भिडन्तले झापा-२ को नतिजा कसको पक्षमा जान्छ भन्ने चासो सबैमा देखिन्छ।